रौतामाई गाउँपालिकामा पहिलो पटक बल्यो बिजुली
उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टार केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको छ । टुकीबत्ती र सोलार प्रयोग गरेर कार्यालयबाट सेवा प्रवाह गरिरहेकामा केन्द्रीय बिजुली पुगेपछि काममा सहज हुनेछ ।
गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको दोस्रो वर्षलाई विद्युत् वर्षको रुपमा घोषणा गरी अभियान चलाएको थियो । गाउँपालिका कार्यालयमा विद्युत् पुगेसँगै समुदायमा पनि त्यसलाई विस्तार गरिनेछ ।
पालिकाले पहिलो वर्षलाई सडक वर्षको रुपमा घोषणा गरी पालिकाको केन्द्र र प्रत्येक वडाको केन्द्रमा सडक पु¥याउने लक्ष्य लिई काम गरेको पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
विद्युत् विस्तारका लागि संघको करिब १ करोड ७५ लाख, प्रदेश सरकारको १ करोड र बाँकी गाउँपालिकाको गरी करिब ३ करोड ५० लाखमा गाउँपालिका केन्द्र भुट्टारसम्म बिजुली ल्याउन सफल भएको अध्यक्ष खड्काले बताए ।
अघिल्लो आर्थिक वर्ष विद्युत् वर्षको रुपमा घोषणा गरिए पनि सबै वडामा एक वर्षमै विद्युतीकरण हुन नसक्ने भएकाले चालू आर्थिक वर्ष पनि सो घोषणालाई निरन्तरता दिइने दिइने जानकारी दिए ।
‘यसैगरी रौतामाई गाउँपालिकाको वडा–७, ८, ५, २, ६ मा विद्युतीकरण भइसकेको छ । बाँकी ३ वडामा पनि यसै आर्थिक वर्षभित्र विद्युतीकरण गर्ने योजनामा रहेको जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष कुमारीज्यु ठकुरीले पालिका अहिले अँध्यारोबाट उज्यालो गाउँपालिकातर्फ लम्किरहेको दाबी गरिन् । आर्थिक वर्ष २०७८ को अन्त्यसम्म सबै नागरिकको घर–घरमा विद्युत् पु¥याउने पालिकाको लक्ष्य छ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्