रौतहटबाट सुरु भयो जमिअत उलमाए नेपालको देशव्यापी ‘शैक्षिक जागरण अभियान’

मेवालाल यादव
रौतहट,
जमिअत उलमाए नेपालद्वारा सञ्चालन गरिएको देशव्यापी “शैक्षिक जागरण अभियान” रौतहट जिल्लाको यमुना माइ गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रम मौलाना सोखत मदनीको अध्यक्षतामा सम्पन्न भएको हो।
शिक्षा क्षेत्रमा देखिएको कमजोर अवस्था, घट्दो शैक्षिक गुणस्तर तथा विद्यालय र मदरसाबाट बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ। अभियान देशव्यापी रूपमा सञ्चालन हुने बताइएको छ।
अभियान अन्तर्गत समुदायस्तरमा शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया, शैक्षिक परामर्श कार्यक्रम तथा प्रेरणामूलक गतिविधिहरू सञ्चालन गरिनेछ। साथै विद्यालय तथा मदरसामा नजाने बालबालिकालाई शिक्षाको पहुँचभित्र ल्याउने विशेष पहल गरिने संस्थाले जानकारी दिएको छ।
कार्यक्रमका अध्यक्ष मौलाना सोखत मदनीले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै समुदाय, अभिभावक, शिक्षक तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले शिक्षाको पहुँच विस्तार बिना सामाजिक विकास सम्भव नभएको बताउँदै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
जमिअत उलमाए नेपालले अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, शैक्षिक संस्था, नागरिक समाज तथा स्थानीय समुदायलाई सहयोग, सहभागिता र समर्थनका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here