रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार

कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद नेपाल ५ खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा नेपाल १० रनले पराजित भएको हो। योसँगै वेस्ट इन्डिजले शृंखलामा १-१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो।

frontline

नेपालले पहिलो पावर प्लेमा २८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। तर, पहिलो खेलमा ११२ रनको शतकीय इनिङ्स खेलेका रोहितले यसपटक पनि उही लयमा खेल्दै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे। 

तर, गुल्शनकुमार झा (२६), लोकशबहादुर बम (१७) र आरिफ शेख (१२) बाहेक कुशल भुर्तेल (२), कुशल मल्ल (०), अनिलकुमार साह (१), दीपेन्द्रसिंह ऐरी (३) र सोमपाल कामी (३) जस्ता आश गरिएका ब्याटर चल्न नसक्दा नेपाल जितनजिक पुगेर पनि पराजय हुन पुग्यो। 

वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २/२ विकेट लिए। ओशान थोमस र रोस्टन चेजको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो।

वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे।

आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

शृंखलाको तेस्रो खेल आउँदो बुधवार हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here