रूकुम पश्चिममा पहिरोमा परेर आमाछोरीको मृत्यु
१३ भदौ, काठमाडौं । रूकुम पश्चिममा पहिरोमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेठी छोरी तिर्सना भने गम्भीर घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताउनुभयो ।
भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।
आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो । आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्