रुस–युक्रेन युद्धको भविष्य ट्रम्प–पुटिन वार्तामा निर्भर

तीन वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयासलाई सार्थक बनाउन अमेरिकी राष्ट्रपतिले रुसी समकक्षीसँग मंगलबार वार्ता गर्दैछन् ।
४ चैत, काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यको लागि प्रयास स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट्दैछन् । तीन वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्धको भविष्य तय गर्न भेटवार्ता निकै महत्वको ठानिएको छ ।




यद्यपि, युक्रेनसँगको युद्ध अन्त्यको अन्तिम निर्णय रुसी राष्ट्रपतिकै हातमा निर्भर रहन्छ । युक्रेनसँगको छलफलपछि अमेरिकाले पुटिनसमक्ष राखेको अस्थायी युद्धविरामको प्रस्ताव पुटिनले अस्वीकार गरिसकेका छन् । अस्थायी युद्धविराम युक्रेनी सेनाका लागि विश्राम मात्र हुने प्रतिक्रिया दिएका पुटिनले धेरै शर्त अघि सारेका छन् । तिनै शर्तमाथि केन्द्रित रहेर ट्रम्प–पुटिन भेटवार्ता हुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनकै दौरान ट्रम्पले आफू निर्वाचित भए २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य हुने सार्वजनिक भाषण दिने गरका थिए । राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्प प्रतिबद्धता पूरा गर्न प्रयासरत देखिएका छन् । तर, यतिका दिनसम्म पनि परिणाम आइसकेको छैन ।
युद्ध अन्त्यका निम्ति प्रयासरत राष्ट्रपति ट्रम्पले ‘एयर फोर्स वान’ पत्रकारहरूसँग कुरा गर्दै पुटिनसँगको वार्ता परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन् ।
युद्ध अन्त्यका निम्ति प्रयासरत राष्ट्रपति ट्रम्पले ‘एयर फोर्स वान’ पत्रकारहरूसँग कुरा गर्दै पुटिनसँगको वार्ता परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन् । युक्रेनी भूमि, विद्युत् गृहलगायतका विषयमा पुटिनसँग गम्भीर वार्ता हुने बताएका उनले यो वार्ता दुवै पक्षका लागि मौका भएको प्रतिक्रिया दिएका छन् ।
‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौं,’ ट्रम्प भन्छन्, ‘हामीबीच पहिलेदेखि नै यसको बारेमा अनौपचारिक कुराकानी चलिरहेकाले सहमति बन्नेमा म विश्वस्त छु । यद्यपि दुवैसँग दुवै मौका मात्र होइन, धेरै राम्रो मौका छ ।’
वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर क्रेमलिन तयार भइसकेको छैन । पुटिनले बरु शर्तहरूको एक शृंखला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।
ट्रम्प–पुटिन भेटवार्ताअघि वातावरण बनाउन ट्रम्पका दूत स्टिभ विटकोफ मस्को पुगेका थिए । उनले पुटिनसँग केही घण्टा लामै छलफल गर्दै उनको विचार बुझ्ने प्रयास गरिसकेका छन् । यस्तो पृष्ठभूमिमा हुन लागेको भेटवार्ता युद्धविराम रोक्ने दिशामा सहयोगी सिद्ध हुने अपेक्षा विश्लेषकहरूको छ ।
क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको बरु युद्धभूमिमा आफ्नो स्थिति सुधार्न चाहेको जेलेन्सीको प्रतिक्रिया छ ।
पुटिनसँग लामै छलफल गरेका विटकोफले सीएनएनसँगको कुराकानीमा दुई राष्ट्रपतिबीचको आसन्न छलफल निकै राम्रो र सकारात्मक हुने मात्र नभई आगामी केही साताभित्र कुनै न कुनै प्रकारको सम्झौता गराउन सफल हुने विश्वास व्यक्त गरे ।
यद्यपि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम सम्झौताका लागि पुटिन तयार नहुने बताउँदै उनका कदम रहस्यमयी र रणनीतिक मात्र हुने आरोप लगाइरहेका छन् । क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको बरु युद्धभूमिमा आफ्नो स्थिति सुधार्न चाहेको जेलेन्सीको प्रतिक्रिया छ ।
जेलेन्सी तिनै राष्ट्रपति हुन्, जो ओबल हाउसमा केही साताअघि अमेरिकी राष्ट्रपतिसँग भएको भेटमा अपहेलित हुँदै बाहिरिन बाध्य भएका थिए । त्यस घटनापछि पनि ट्रम्प भने रुस–युक्रेन युद्धविराम गराउन प्रयासरत छन् । त्यही प्रयासस्वरूप उनले आफ्ना विशेष दूतलाई किएभ र मस्को पठाएर पृष्ठभूमि तयार पारिरहेका छन् ।
त्यसोतः गत महिना साउदी अरबमा अमेरिका–रुस शिखर सम्मेलन भएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी समकक्षी सर्गेइ लाभरोभ नेतृत्वको प्रतिनिधिमण्डलबीच विभिन्न समझदारी भएका थिए । सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण सुरु गरेयता अमेरिका र रुसबीच फेब्रुअरीमा भएको रियाद सम्मेलन पहिलो उच्चस्तरीय बैठक थियो ।
बैठकपछि विदेशमन्त्री लाभरोभ र अमेरिकी समकक्षी रुबियोबीच सम्पर्कमा रहने सहमति भएको थियो । यही पृष्ठभूमिमा शनिबार दुवै पक्षले युक्रेनका विषयमा आगामी कदमबारे छलफल गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसलेका अनुसार संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनस्र्थापनाका लागि काम जारी राख्न सहमत भएको बताएका छन् ।
बेलायतले युक्रेनबारे भर्चुअल शिखर सम्मेलन आयोजना गरेको केही घण्टापछि लाभरोभ–रुबियोबीच कुराकानी भएको थियो, जसमा प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले युद्धविरामलाई अघि बढाउन नचाहेको र यो वा त्यो बहानामा समय खेर फाल्ने काम गरिरहेको बताएका थिए ।
युद्ध अन्त्यको प्रयासहरू भइरहँदा रुस र युक्रेन भने आक्रमण–प्रत्याक्रमणमै जोड दिइरहेका छन् । दुवैले ड्रोन आक्रमणलाई तेज बनाएका छन् ।
‘रुसले वार्ता गर्ने त भनेको छ, वार्ताका लागि उसको पहल पर्याप्त छैन,’ स्टार्मरले भनेका थिए, ‘युक्रेनमाथि हुने रुसी बर्बर आक्रमणलाई सदाका लागि अन्त्य गर्ने अवस्था बनाउन अनिवार्य छ ।’
आइतबार किएभले मस्कोले युक्रेनका नौ वटा क्षेत्रमा इरानमा निर्मित ९० वटा शाहेद ड्रोन प्रक्षेपण गरेको बताएको थियो ।
यसै साताको सुरुमा युद्धविरामबारे प्रतिक्रिया व्यक्त गर्दै पुटिनले यो पहलले मुख्यतः युक्रेनलाई फाइदा पुग्ने भन्दै वार्ता पहलमाथि ‘गम्भीर प्रश्न’ उठाउनुभएको थियो ।
युक्रेनको दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको रूसले युद्ध मोर्चाका केही क्षेत्रमा गति लिइरहेका बेला यो प्रस्ताव आएको उहाँको दावी थियो ।
रुसले आफ्नो कुस्र्क क्षेत्रको केही भागबाट युक्रेनी सेनालाई पछि धकेलेको छ । उक्त क्षेत्र किएभका लागि भविष्यमा हुने कुनै पनि वार्तामा सम्भावित ‘बार्गेनिङ’ शक्तिका रूपमा रहने युक्रनको विश्वास रहेको छ ।
युद्ध अन्त्यको प्रयासहरू भइरहँदा रुस र युक्रेन भने आक्रमण–प्रत्याक्रमणमै जोड दिइरहेका छन् । दुवैले ड्रोन आक्रमणलाई तेज बनाएका छन् । युक्रेनी क्षेत्रमा रूसी ड्रोन आक्रमणहरू रातभर जारी रहे भन्दै युक्रेनले भनेको छ कि रूस अझै पनि उत्तरी युक्रेनको सुमी क्षेत्रमा आक्रमण गर्न खोजिरहेको छ । सुमी रूसको कुस्र्क क्षेत्रको नजिक छ, जुन रूसी सेनाले पुनः कब्जा गरिरहेको छ ।
रुस र युक्रेन पछिल्लो तीन वर्षभन्दा लामो समयदेखि न जित्ने– न हार्ने युद्धमा फसेका छन् । सैन्य शक्तिका हिसावले रुस निकै बलियो भए पनि अमेरिका र सिंगो युरोपको सैन्य सहयोगका कारण युक्रेन डटिरहेको छ । यसबीचमा रुसले युक्रेनको कूल भूभागको करिब २० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको छ ।
युद्धबाट रुसले कब्जा गरेको र युक्रेनले गुमाएको यही भूगोलमाथि कसको नियन्त्रण रहने भन्ने जटिल विवादको हल ट्रम्पले कसरी खोज्ने छन् ? ट्रम्प–पुटिनबीचको प्रतीक्षित वार्ताको सफलता त्यसमै अडेको देखिन्छ ।
(एजेन्सीहरूको सहयोगमा)
ट्रम्प-पुटिन वार्ता रुस-युक्रेन युद्ध
प्रतिक्रिया दिनुहोस्