रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभ : युक्रेनसँग युद्ध गर्न चाहन्नौं
१५ माघ, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् ।
शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमा हमला गर्न सक्ने बताएलगत्तै ल्याभरोभको यस्तो प्रतिक्रिया आएको हो ।
बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको टेलिफोन कुराकानीमा बाइडेनले आउँदो महिना रुसले हमला गर्न सक्ने ‘प्रस्ट संभावना’ रहेको भन्दै चेतावनी दिएका थिए ।
तर रुसको सुरक्षा चासोलाई बेवास्ता गर्न नदिने समेत ल्याभरोभको भनाइ थियो । ‘रुसी महासंघमाथि निर्भर रहेको अवस्थासम्म कुनै युद्ध हुनेछैन’, रुसी रेडियोसँगको प्रत्यक्ष अन्तर्वार्तामा उनले भने, ‘हामीले युद्ध चाहन्नौं ।’
पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव उत्कर्षमा पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने उद्देश्यसहित सीमानामा १ लाख बढी फौज तैनाथ गरेको अमेरिका र नेटो गठबन्धनले बताएका छन् ।
तर रुसले भने युक्रेनमाथि हमला गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमिमा सेना तथा हतियार तैनाथ गर्ने अधिकार रहेको बताउँदै आएको छ ।
तनाव उत्कर्षमा पुगिरहेका बेला अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिमी युरोपमा पठाउन बनाइएको प्रमुख पाइपलाइन खुलाउने प्रक्रिया अवरुद्ध पार्ने बताएका छन् ।
नोर्ड स्ट्रिम टु पनि भनिने उक्त पाइपलाइन सञ्चालनमा अवरोध गर्ने अधिकारीहरूको भनाइ छ ।
‘रुसले कुनै पनि तरिकाले युक्रेनमाथि हमला गर्यो भने नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन र म यो कुरा प्रस्टसँग भन्न चाहन्छु’, अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले भने । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्