रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकी सेना हाई अलर्टमा
११ माघ, काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ ।
पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ ।
पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा राखिएका सैनिकहरुलाई तैनाथ गर्ने बताएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ ।
त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो ।
रुस-युक्रेन तनाव बढेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युरोपका सहयोगी देशहरुसँग भर्चुअल छलफल गरेका थिए ।
सो छलफलपछि पश्चिमी देशहरुले रुसविरुद्ध समान रणनीति अपनाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।
छलफलमा बेलायत, फ्रान्स, जर्मनी, इटली, पोल्याण्डका सरकार प्रमुखहरुका साथै नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग सहभागी थिए ।
नेटोका सदस्य देशहरु डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्डले रक्षातन्त्र मजबुत बनाउन पूर्वी युरोपमा फाइटर जेट र युद्धपोत पठाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्