रुपन्देहीको तिलोत्तमामा स्थगित मतगणना पुनः सुरु
५ जेठ,बुटवल । रुपन्देहीको तिलोत्तमामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ ।
गणकहरूले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।
एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले बताए ।
तिलोत्तमामा ९९४२ मत गणना गरेर सकिंदा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ३८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापाईंले ३६२१ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा भने एमालेकी जागेश्वरीदेवि चौधरीले ३४४८ मतसहित अग्रता लिएकी छन् । माओवादी केन्द्रका हेमन्त पाण्डेले १७२२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्