रुपन्देहीको केही ठाउँमा खोप अभियान स्थगित

 काठमाडौं । बुटवल जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि रुपन्देहीमा कोरोना भाइरस विरुद्धको खोप अभियान केही ठाउँमा स्थगित भएको छ ।

जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

frontline

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई मंगलबारदेखि लगाउन शुरु भएको थियो ।

यो उमेर समूहका नागरिकको संख्या जिल्लामा १८ हजार छ ।

लक्षित उमेर समूहलाई नै पुग्ने खोप नआएका बेला जनप्रतिनिधिले आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘तोकिएको उमेर समूहभन्दा बाहिर गएर एक जना वडाअध्यक्षले आफ्ना छिमेकी, आफन्त र कार्यकर्तालाई खोप लगाउन दिएपछि विवाद भयो’ ओमसतियाका एक स्वास्थ्यकर्मीले भने ।

प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बताए ।

मंगलबार जिल्लामा ६९ खोप केन्द्रबाट ८ हजार ९९८ जनालाई खोप लगाइएको थियो ।

यसमध्ये अधिकांश पालिकामा जनप्रतिनिधिले नै आफन्त र कार्यकर्तालाई प्राथमिकता राखेपछि विवाद उत्पन्न भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले विवाद र खोप अभावमा चार स्थानीय तहमा खोप लगाउन स्थगित गरिएको बताए ।

सरकारले खोप व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद छ ।

सरकारले तोकेभन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टीकरण सोधेको प्रजिअ तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here