रिंकु मृत्यु प्रकरण : घटना दबाउन पञ्चायती बस्ने ३ जनाविरुद्ध ५ दिन म्याद थप

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
१३ फागुन, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ ।




सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।
उनका अनुसार म्याद थप भएर हिरासतमा हुनेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।
उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म वपेपत्ता भएकी थिइन् ।
२८ गतेको बिहानीपख ३ बजेतिर उनी आफ्नै घरमा अचेत भेटिएकी थिइन् । शौच गर्न निस्केका बेला उनलाई स्थानीय तीन युवाहरुले घरबाट केही पर लगेर सामूहिक बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
रिंकुले आफूमाथि बलात्कार भएको विषय पञ्चायतीमा समेत बताएकी थिइन् । उक्त विषय बाहिर आएपछि घटना दबाउन पञ्चायती बसेको र पैसाको मोलमोलाई भएको प्रहरी अनुसन्धानबाट पनि पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्