राैतहटमा महिला संघको राष्ट्रिय महाधिवेशन लक्षित जसपा नेपालको बैठक सम्पन्न

मेवालाल यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) को भातृ संगठन समाजवादी महिला संघको आसन्न राष्ट्रिय महाधिवेशनलाई सफल बनाउने उद्देश्यले जसपा नेपाल रौतहटले एक महत्त्वपूर्ण बैठक सम्पन्न गरेको छ। बैठक सोमबार पार्टीको गौरस्थित जिल्ला कार्यालयको सभाहलमा जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा सम्पन्न भयो।




बैठकमा वैशाख २७ र २८ गते जनकपुरधाम, धनुषामा आयोजना हुने समाजवादी महिला संघ नेपालको राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राख्दै विस्तृत छलफल भएको थियो। जसपा नेपाल जिल्ला कार्य समिति, रौतहटको आयोजनामा सम्पन्न उक्त बैठकमा महिला संघको महाधिवेशन व्यवस्थापन, सहभागीहरूको तयारी, स्थानिय सञ्जाल सुदृढीकरण तथा राजनीतिक दृष्टिकोण विकासमा केन्द्रित कार्ययोजना तय गरिएको हो।
बैठकमा महाधिवेशनलाई मात्र होइन, सम्पूर्ण पार्टी संगठनलाई सुदृढ बनाउने रणनीतिमा गम्भीर छलफल भएको अध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार, जसपा नेपालले केन्द्रबाट पठाएको परिपत्रअनुसार सम्पूर्ण जनवर्गीय तथा पेशागत संगठनहरूले यही वैशाख महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नु पर्नेछ। यस अनुसार, प्रत्येक संगठनले आफ्ना समितिको बैठक गरी अधिवेशनको मिति तय गरी पार्टीलाई जानकारी गराउने निर्णय गरिएको छ।
साथै, जसपा नेपाल रौतहट अन्तर्गतका सबै पालिकामा रहेका संगठनहरूले आफ्नो संगठनात्मक प्रतिवेदन सम्बन्धित नगर अध्यक्ष तथा सचिवमार्फत १५ दिनभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउनु पर्ने व्यवस्था पनि बैठकले पारित गरेको छ।
बैठकमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट, संगठनात्मक संरचना सुदृढीकरण, महिला नेतृत्व विकास, राजनीतिक दृष्टिकोणमा स्पष्टता, तथा भावी रणनीतिको विषयमा गहिरो छलफल गरिएको थियो। जसपाका नेताहरूले महिला नेतृत्वको सशक्त उपस्थिति र सामाजिक रूपान्तरणमा रौतहट जिल्लाको ऐतिहासिक भूमिका स्मरण गर्दै यस महाधिवेशनबाट नयाँ उत्साह र जोश उत्पन्न हुने विश्वास व्यक्त गरे।
बैठकमा जिल्ला, प्रदेश तथा केन्द्रीय तहका पदाधिकारीहरू, नगर अध्यक्षहरू तथा सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जसपाका उपाध्यक्ष पारस भण्डारीका अनुसार, यो महाधिवेशन पार्टीको दीर्घकालीन अडान—राजनीतिक स्थायित्व, समावेशीता, लैंगिक समानता र संघीयताको पक्षमा पार्टीको नीतिगत प्रतिबद्धता पुनः पुष्टि गर्ने ऐतिहासिक अवसर बन्नेछ।
यस प्रकार, रौतहटमा सम्पन्न भएको उक्त बैठकले संगठनात्मक गतिशीलता, महिला सशक्तिकरण र समावेशी लोकतान्त्रिक मूल्यहरूलाई समेट्दै, समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशनलाई पूर्णरूपेण सफल पार्ने अभियानको शुभारम्भ गरेको छ।
प्रतिक्रिया दिनुहोस्