राष्ट्रिय महिला लिग : एपीएफको विजयी सुरुवात
१० चैत, चितवन । साविक विजेता एपीएफले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ ।
सावित्रा भण्डारी साम्बाले १३ महिनापछि पुनरागमन गरेको खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।
चितवनको भरतपुरस्थित शारदानगर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५२औं मिनेटमा आर्मीले पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । रश्मि कुमारी घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । तर उक्त अग्रता लामो समय टिकेन ।
५७औं मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । रेनुका नगरकोटेले बराबरी गोल गरिन् । ८२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफले गोल गर्दै खेल जितेको हो ।
गत सिजन राष्ट्रिय लिगकै बेला घुँडामा चोट लागेपछि मैदान बाहिर रहेकी सावित्राले उपचारपछि यसै खेलबाट पुनरागमन गरिन् । उनी ६०औं मिनेटमा रविना गोलेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्