राष्ट्रसंघका दुई विज्ञलाई मारेको आरोपमा ५१ जनालाई मृत्युदण्डको सजाय
१७ माघ, किन्सासा । संयुक्त राष्ट्रसंघका विज्ञहरु मारिएको आरोपमा ५१ मानिसलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
सन् २०१७ मा राष्ट्रसंघका दुई विज्ञहरुलाई मारेको आरोपमा डेमोक्रेटिक रिपब्लिक कंगोको सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।
कंगोमा हत्याको मुद्धामा मृत्युदण्डको सजाय दिने गरिएको थियो। तर कंगो सरकारले सन् २००३ मा मृत्युदण्डको सजायमा रोक लगाइ आजीवन काराबासको सजायमा परिणत गरिएको थियो।
त्यसयता सामुहिक मृत्युदण्ड सुनाइएको यो पहिलो केस भएको बताइएको छ। कंगोको कसाई प्रान्तस्थित सरकारी सेना र विपक्षी समुहविच भएको हिंसा अनुसन्धानमा खटिएका राष्ट्रसंघका विज्ञ जाइदा क्याटलान र माइकल सार्पको सन् २०१७ मार्च महिनामा हत्या भएको थियो।
हत्या भएको १६ दिनपछि उनीहरुको शव फेला परेको थियो। उनीहरु सन् २०१६ देखि २०१७ मार्चसम्म भएको हिंसाबारे अनुसन्धानमा खटिएका थिए। सो समयावधिमा करिब ३४ सय मानिसको हत्या भएको थियो भने हजारौंले बासस्थान छोडेको थिए।
त्यहाँको विपक्षी शसस्त्र समुहले उनीहरुको हत्या गरेको पुष्टि कंगोस्थित कनाङ्गा सैन्य अदालतले गरेको थियो। सो पुष्टि भएपछि सैन्य अदालतले ५४ आरोपितमध्ये ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।
प्रतिक्रिया दिनुहोस्