राष्ट्रपति र प्रधानमन्त्रीका कदमविरूद्ध उत्रन नेविसंघको आह्वान

नेविसंघले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको भन्दै संघर्षमा उत्रन आह्वान गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज विज्ञप्ति निकालेर युवा तथा विद्यार्थीलाई संघर्षको मैदानमा उत्रिन आह्वान गरेका हुन्।

frontline

गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

यो कदम षड्यन्त्रपूर्वक भएकोले नेविसंघले भर्त्सना र निन्दा गरेको अध्यक्ष ढुंगानाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना कहरले देश आक्रान्त भएको र जनताको ज्यान गुमिरहेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्रविरूद्ध षड्यन्त्रको तानाबाना बुनेको आरोप नेविसंघको छ।

लोकतन्त्र संकटमा परेको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद लाद्न उन्मुख देखिएकोले संघर्षमा उत्रन नेविसंघले आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले राजा ज्ञानेन्द्र शाहकै शैलीमा राष्ट्रपति र प्रधानमन्त्रीले कदम चालेकोले विरोध गर्नुपरेको बताए।

‘राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिइरहेका छन्,’ उनले भने। लोकतन्त्रवादीहरू एकजुट भएर ओलीलाई सत्ताच्युत गर्न ढिलो गर्न नहुने उनले बताए।

यस्तै नेविसंघका अर्का महामन्त्री बलदेव तिमिल्सिनाले प्रतिगमनविरूद्ध फेरि एकपटक संघर्षमा उत्रने बेला आएको बताए। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्मविपरीत अलोकतान्त्रिक काम गरेकोले विरोध गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

poster-here