राष्ट्रपति भण्डारी समक्ष भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहोदाको प्रमाणपत्र
१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त राजदूत श्रीवास्तवले ओहोदाको प्रमाण पत्र बुझाएका हुन्।
नियुक्त भएको एक महिनापछि कार्यभार सम्हाल्न उनी असार ११ गते नेपाल आएका थिए। भारत सरकारले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो।
यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीकारुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए। करियर कूटनीतिज्ञ श्रीवास्तव चिनियाँ मामिला जानकार हुन्।
उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन्। पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्।
साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन्।
प्रतिक्रिया दिनुहोस्