राप्रपाको मतदान राति १ बजेसम्म सकिने आँकलन
१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि शनिबार अबेर गरी सुरु भएको मतदानको प्रक्रिया अझै लम्बिने भएको छ।
शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिएका छन्।
सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने उनको आँकलन छ। उनका अनुसार राति १ बजेसम्म मतदान सकिने छ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन्।
यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो।
राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्