राति अबेर खाँदा मोटोपन बढ्छ, के यो सत्य हो ?

राति अबेर खाना खानु हुँदैन । यसले स्वास्थ्यमा असर पार्छ । राति खाने बानीले मोटोपन बढ्छ । खानेकुरा सकेसम्म साँझमै खाएको राम्रो । यस्ता भनाइ धेरैले सुनेको हुनुपर्छ ।
के, वास्तवमै रातमा ढिला खानेकुरा खाएमा मोटोपन बढ्छ ? मोटोपन हुन्छ भन्ने डरले खानै नखाने त ?




राति अबेर खानेबित्तिकै मोटोपन बढ्छ भन्ने बुझाइ पूर्णरुपले सत्य मान्न सकिँदैन । मोटोपन बढ्नका लागि रातमा खानेकुरा कस्तो खाइएको छ ? कति मात्रा खाइएको छ ? त्यसमा निर्भर रहन्छ ।
यदि राति अस्वस्थकर, अत्यधिक क्यालोरीयुक्त खानेकुरा खाने बानी छ भने तौल बढ्न सक्छ।
यो पनि दिनकै राति अबेर खाने बानी छ भने मोटोपन हुने जोखिम हुन्छ ।
महिनामा एकपटक वा कहिलेकाहीँ भारी खानेकुरा खाइन्छ भने यसले मोटोपन बढाउँदैन । बरु, भोलिपल्ट पाचनमा समस्या भने हुनसक्छ ।
रातमै पनि स्वस्थकर खानाको उचित छनोट गरी सन्तुलित मात्रामा खाइएमा मोटोपन बढ्ने सम्भावना न्यून छ । त्यसैले, सकेसम्म त रातमा खाना नखानु नै उचित हुन्छ । खानै पर्ने अवस्थामा हल्का र सुपाच्य खानेकुरामा जोड दिनुपर्छ ।
खानेकुरा खाएपछि केहीबेर कोठामै भए पनि हिँडडुल गर्ने वा केही समय बज्राशनमा बस्ने गर्दा अनावश्यक बोसो शरीरमा जम्मा हुने जोखिम रहँदैन । पाचनमा समस्या पनि हुँदैन।
त्यसोभए, रातमा कस्तो खानेकुरा खाँदा मोटोपन बढ्ने जोखिम हुन्छ ?
शरीर २४ घण्टा एकैलयमा सक्रिय हुन सक्दैन । यसलाई केही घण्टा आराम चाहिन्छ । आराम गर्नका लागि शरीरले रातको समय खोज्छ । दिनभरको शारीरिक गतिविधिले गर्दा शरीर थाक्छ । जसकारण रातको समयमा हाम्रो शरीर आरामको अवस्थामा पुग्छ ।
यही समयमा दिनमा उर्जाका लागि सकिएको उर्जा अर्को दिनका लागि संचय गर्नथाल्छ ।
यो अवस्थामा पाचन क्षमताले पनि सुस्त गतिमा काम गर्छ । अत्याधिक खानेकुरा खाइन्छ भने यो समयमा शरीरले पुरै खपत गर्न सक्दैन ।
यसको मतलब निद्राको प्रक्रियामा हुँदा क्यालरीयुक्त खानेकुरा पचाउने उर्जा पाचनप्रणालीसँग निकै कम हुन्छ । जसकारण रातमा अत्याधिक क्यालरीयुक्त खानेकुरा शरीरमा अनावश्यक जम्मा भएर बस्छ ।
प्रत्येक रात नै यस्ता भारी खानेकुरा खाइरहने हो भने सबैकुरा पच्न सक्दैन । नपचेका त्यस्ता खानेकुरा अनावश्यक रुपमा बोसो बनी थुप्रिएर तौल बढ्न सक्छ । मोटोपन बढ्नका लागि तारेको, भुटेको, जंक फुड, चकलेट जस्ता जिब्रो लोभ्याउने खानेकुरा बढी जिम्मेवार छन् ।
यस्ता खानेकुरामा पौष्टिक तत्व कम, उच्च क्यालरी हुन्छ । मुखलाई पनि यसको स्वादको बानी परेको छ र रातको ८ बजेपछि आधा रातसम्म पनि यस्ता खानेकुरा खानेबित्तिकै सुत्ने हो भने खानेकुरा पच्न पाउँदैन ।
रातको निद्रा विथोलिन्छ । जसले मोटोपन मात्र नभई दिनमा पेट ढुस्स हुनु, छिटो निद्रा नखुल्नु, आलश्यता बढ्नु र शरीर उर्जाशील नहुने समस्या बढ्छ ।
जुन स्वास्थ्यका हिसाबले ठिक होइन । दिनमा पनि आलश्य भई शारीरिक गतिविधि कम भएमा यसले पनि मोटोपनलाई बढावा दिन्छ ।
निद्रा र मोटोपन
अबेर रातमा खाइने क्यालरीयुक्त खानेकुराले पाचन प्रणालीलाई मात्र असर गर्दैन । निद्राको लयलाई पनि प्रभावित पार्छ । जब आधा रातमा खानेकुरा खाने गरिन्छ । त्यो समय कोर्टिसोल हर्मोन र इन्सुलिनको स्तर उच्च हुन्छ । यी दुई हर्मोनले पनि तौल बढाउन सक्छन् ।
उच्च कोर्टिसोलको मात्रा र इन्सुलिनले शरीरको पेट र शरीरको अन्य भागमा अनावश्यक बोसो थुपार्न मद्दत गर्छ ।
रातमा निदाउन पर्ने बेलामा खानेकुरा टन्न खाएर सुत्दा निद्राको गुणस्तरमा ह्रास आउँछ । जो तौल नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्छ ।
राति अबेर खाँदा हाम्रो शरीरको भोक नियन्त्रण गर्ने हर्मोनहरू प्रभावित हुन्छन्। यदि सुत्नुअघि धेरै खाने बानी छ भने, भोलिपल्ट पनि अनियमित खानपानको चक्र दोहोरिन्छ, जसले मोटोपन बढाउँछ।
रातमा खानै हुँदैन ?
रातमा खानेकुरा खानु स्वास्थ्यका हिसाबले गलत हो भन्न मिल्दैन । सुपाच्य खानेकुरा कम मात्रामा खान सकिन्छ । तर, खानेबित्तिकै ओछयानमा गइहाल्नु भने हुँदैन ।
यदि राति सन्तुलित खाना, जस्तो कि प्रोटिन, फाइबर र कम क्यालोरीयुक्त खाना खाएर सुत्नुअघि केही समय अन्य गतिविधि गर्ने बानी छ भने पनि तौल बढ्ने सम्भावना कम हुन्छ।
राति खानाले मात्रै मोटोपन बढ्छ ?
राति खानाले मात्र मोटोपन बढ्दैन। दिनमा पनि चाहिने भन्दा बढी खाइरहने, एकपटकको बसाइमा पेटले थेग्न नसक्ने गरी खाने, प्रशोधित खानेकुरामा बढी जोड दिने, शारीरिक गतिविधि पटक्कै नगर्ने, अनिद्राको समस्या वा कुनै औषधि लामो समयसम्म खाइरहेको अवस्थामा मोटोपन बढ्न सक्छ ।
तनावले पनि कसैमा मोटोपन गराउन सक्छ । केहीमा भने वंशाणुगत कारणले पनि मोटोपन बढ्न सक्छ ।
तौल नियन्त्रण गर्न के गर्ने ?
– अबेर राति भारी खाना नखाने
– हल्का, पौष्टिक र सजिलै पच्ने खाना खाने।
– बेलुकाको खाना खाने समय ६ देखि ७ बजेभित्र बनाउने ।
– नुनिलो, चिल्लो र मिष्टान्न खानेकुरा कम गर्ने । यस्तो खानाले बोसो जम्मा गर्न प्रेरित गर्छ।
– खानेकुरामा प्रोटिन र फाइबर बढी राख्ने । जस्तै-: दाल, हरियो तरकारी, सलाद, फलफूल।
– खाएपछि कम्तिमा ३० मिनेट शारीरिक गतिविधि गर्ने । सुत्नुअघि थोरै हिँडडुल गर्दा राम्रो हुन्छ।
प्रतिक्रिया दिनुहोस्