राज्य संयन्त्र हल्लाउने इनम सापकोटाको यस्तो छ ट्राभल हिस्ट्री, जर्मनी र भारत बाक्लो आउजाउ
झापा दमकका इनम सापकोटा १८ दिनदेखि प्रहरी हिरासतमा छन्। यी ३१ वर्षीय युवकले यो महिना नेपाली राज्य संयन्त्रमै तरंग ल्याए।
उनकै कारण नक्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक पुर्याउन पर्यो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले १२ घण्टा नियन्त्रणमा लियो। सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको जागिर नै गयो।
दाहालको एआईजीमा चार वर्षे पदावधि सकिन लागेपछि एक वर्ष म्याद थपका लागि फाइल गृह मन्त्रालय पुगेको थियो। तर, गृह मन्त्रालयले सापकोटासँग कनेक्सन देखिएपछि छानबिन समिति बनायो। समितिले तीन दिनमै प्रतिवेदन दिँदा पदावधि सकिनु तीनदिन अघि उनी बर्खास्तीमा परे।
यसरी ३१ वर्षकै उमेरमा राज्य संयन्त्र हल्लाउने इनम सापकोटाको कनेक्सन यतिमै सीमित छैन। प्रहरीले उनलाई हिरासतमा राखेर थप तथ्यहरू खोतल्दैछ।
उनीविरुद्ध सुरुमा अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान गरेको प्रहरीले अहिले अरु दुई वटा कसुरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
सापकोटामाथि अहिले राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी थापाले बताए।
सापकोटामाथि अनुसन्धानका क्रममा थप प्रमाण फेला पर्दा अरु थप व्यक्ति तानिन सक्ने छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट रहेका केही पूर्वपदाधिकारीहरु अहिले पनि छानबिनको दायरामा छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो मुद्दामा अनुसन्धान अगाडि बढाइसकेको छ।
यसरी राज्य संयन्त्रमा तरंग ल्याउने सापकोटा मुख्यगरी जर्मनी र भारत आउजाउ गर्ने गरेको पाइएको छ। गृह मन्त्रालय स्रोतले नेपालखबरलाई उपलब्ध गराएको सापकोटाको यात्रा विवरण अनुसार पछिल्ला १० वर्षमा उनी १५ पटक भारत र जर्मनी आउजाउ गरेका छन्।
अहिले उनले प्रयोग गरिरहेको नेपाली पासपोर्टको म्याद २०८२ पुस ८ गते सकिएको थियो। त्यसपछि पनि उनी भारत गएर फर्किएका छन्। उनले अन्तिम पटक भारत आउजाउ गर्दा विमानस्थलमा नेपाली नागरिकता प्रयोग गरेका छन्।
अन्तिम पटक उनी २०८३ साउन २७ गते चार दिन भारत बसेर फर्किएका थिए। साउन २३ गते मात्रै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको देखिएको छ।
त्यसअघि नेपाली पासपोर्ट प्रयोग गरेर १३ पटक उनी भारत र जर्मनी आउजाउ गरेको देखिएको छ। २०८२ असार ३१ गते मंगलबार पनि उनी दिल्ली गएका थिए। त्यतिबेला एक साता बसेर उनी साउन ५ गते काठमाडौँ फर्किएका थिए।
त्यसअघि उनी जर्मनी गएको विवरण फेला परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। सन् २०२१ सेप्टेम्बर ८ अर्थात २०७८ भदौ २३ गते जर्मनी गएका थिए।
त्यतिबेला उनी जर्मनीमा २ वर्ष बसेका थिए। २०८० जेठ १९ गते मात्रै उनी नेपाल फर्किएका थिए। तर नेपालमा करिब एक महिना बसेर २०८० असार २५ गते उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जर्मनी गएका थिए। तर डेढ महिनापछि असोज १० गते नेपाल फर्किए। जर्मनी जानु पहिले उनी ७ पटक भारत आउजाउ गरेको विवरण फेला परेको छ।
पहिलो पटक २०७३ पुस ७ गते नेपाली पासपोर्ट प्रयोग गरेर भारत गएका उनी त्यसयताका ५ वर्षमा ७ पटक विमानस्थलबाटै आउजाउ गरेको पाइएको छ।
अहिले अनुसन्धानका क्रममा प्रहरीले सबैतिरबाट उनीसँग सम्बन्धित कागजात झिकाएको छ। बैंकिङ कारोबार पनि सापकोटाका गतिविधि शंकास्पद देखिएको प्रहरीको भनाइ छ।
सापकोटा समेत जोडिएको सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ। तर धेरै कुरा सापकोटाबाटै खुल्ने अपेक्षा गरिएको अनुसन्धान अधिकारीहरु बताउँछन्।
सापकोटाबाट सबै विवरण लिइसकेपछि अरुलाई तान्ने योजनामा प्रहरी देखिन्छ। उनीमाथि अदालतका मुद्दादेखि ठेक्कापट्टासम्म सेटिङ गरेको आरोप छ। विवादित व्यवसायी दिपक भट्ट थुनामा परेपछि भएका चलखेल खोतल्ने गर्ने क्रममा प्रहरी अनुसन्धान पूर्वप्रधानन्यायाधीश जबरासम्म पुगेको हो।
सम्पत्ति शुद्धीकरणकै कसुरमा भट्टलाई सुरुमा डिल्लीबजार कारागार चलान गरिएको थियो। तर त्यहाँ शंकास्पद गतिविधि भइरहेको पाइएपछि भट्ट र अर्का बन्दी प्रदीप अधिकारीलाई डिल्लीबजारबाट छुट्टाछुट्टै कारागार सरुवा गरिएको थियो।
अधिकारीलाई केन्द्रीय कारागार सुन्धारा र भट्टलाई नक्खु लगिएको थियो। तर नक्खु लगेपछि पनि भट्टले सापकोटा मार्फत नै अरु चलखेल बढाएको प्रमाण फेला परेको भन्दै प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर उनको मोबाइल जाँच गरेको थियो।
त्यसक्रममा पूर्वप्रधानन्यायाधीश जबराको कनेक्सन सापकोटामार्फत भट्टसम्म देखिएको दाबीसहित सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।






प्रतिक्रिया दिनुहोस्