राजुलाई जोगाउन बालेनको जापान भ्रमण रद्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले अन्तिम घडीमा जापान यात्रा रद्द गरेका छन् । शहरी विकास योजनासम्बन्धी कार्यक्रममा सहभागी हुन हिजो त्यता प्रस्थान गर्नुपर्ने उनले अन्तिम समयमा कार्यक्रम स्थगित गरेका हुन् ।
वैदेशिक भ्रमणमा जाँदा कार्यवाहक दिनुपर्ने भएपछि भ्रमण रद्द गरेको स्रोत बताउँछ । यतिखेर महानगरमा नगर प्रहरी बलका अवैध प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई हटाउनुपर्ने चर्को आवाज उठिरहेको छ । आफ्नो अनुपस्थितिमा कार्यपालिका बैठक बसेर उनलाई निकाल्ने डरले बालेनले भ्रमण कार्यक्रम नै स्थगित गरेको स्रोतको दाबी छ ।




‘लामो समयदेखि कार्यपालिका बैठक बसेको छैन । राजुनाथलाई कारबाही गर्नुपर्ला भन्ने डरले कार्यपालिका बैठक टार्दै आएका थिए । विदेश जाने भएपछि उपमेयरलाई कार्यवाहक दिनैपर्यो । उपमेयरको नेतृत्वमा बसेको बैठकले उनलाई हटाउँछ भन्ने भयका कारण उनले भ्रमण रद्द गरेका हुन्’,स्रोतले भन्यो ।
नगरप्रहरी प्रमुख एसएसपी पाण्डे कामु हुन् । कामुको अवधि ६ महिनाको हुने भएतापनि उनी बालेन आएदेखि सोही जिम्मेवारीमा छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई ढोकैमा रोक्ने उनको ‘दादागिरी’ बढेको बताउँदै कर्मचारीहरुले उनलाई कारबाहीको मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए । उनलाई हटाउनुपर्ने भएपछि मेयरले लामो समयदेखि कार्यपालिका बैठक रोकिराखेका छन् ।
यता, महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले मेयर जापान गए–नगएकोबारे जानकारी नभएको बताए । उनले भने,‘खोइ,उहाँ जानुभयो कि भएन ? जानकारी छैन ।’
प्रतिक्रिया दिनुहोस्