राजुका खातिर बालेनको जापान यात्रा रद्द

जनप्रतिनिधिको साथ, अवैध नगरप्रहरी प्रमुखलाई राहत ! प्रसंग हो काठमाडौं महानगरपालिकाको । मेयर बालेन्द्र (बालेन) साह र कांग्रेका वडाध्यक्षहरूले काँध हालेपछि काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डे कारबाहीबाट जोगिएका छन् । राजुको पक्षमा जनप्रतिनिधि उभिएकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आफ्नो निर्णयबाट पछि हट्नुपर्ने बाध्यता आइलागेको छ ।

महानगरका प्रवक्तासमेत रहेका १७ का वडाध्यक्ष नवीन मानन्धर र  २६ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक ख्याम तिवारीले राजुलाई काखी च्यापेको बताइन्छ  । उनीहरूकै कारण गुरागाईँ आफूलाई कार्यालयमा छिर्न नदिने राजुलाई कारबाही गर्न खुट्टा कमाइरहेका छन् । ‘गुरागाईँले राजुनाथलाई कारबाही गर्न खोजेका थिए । तर, वडाध्यक्षहरू नै बाधक बनेपछि के गर्नु ?’, स्रोतले भन्यो । 

frontline

राजुले बालेनको मौखिक आदेशमा गुरागाईँलाई गेटमै रोकेका थिए । तर, वडाध्यक्ष र कर्मचारीको बलमा उनलाई पुनः ईन्ट्री गराइयो  । राजुको ‘दादागिरी’ बढेको भन्दै विभिन्न कर्मचारी संगठनले कारबाहीको माग सहित गत चैत २८ गते गुरागाईँलाई ज्ञापनपत्र बुझाएका थिए तर जनप्रतिनिधिको आडका कारण गुरागाईँले आफ्नो अधिकारसमेत प्रयोग गर्न नपाएको अवस्था छ ।

नगरप्रहरी प्रमुख प्रशासकीय अधिकृतमातहत हुन्छन् । उनैले नगरप्रहरी परिचालन गर्ने हो । गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा राजु र नवीनबीच पनी झगडा परेको थियो । अहिले तिनै नवीन राजुलाई जोगाउनतर्फ लाग्नुपछाडि पार्टी आवद्धता प्रमुख कारण भएको स्रोत बताउँछ । राजु कांग्रेसी हुन् । नवीन पनि कांग्रेसबाटै निर्वाचित भएका हुन् । २६ का वडाध्यक्ष तिवारी र राजु साँझको साथी भएको स्रोतको जिकिर छ ।

राजुले गुरागाईँलाई कार्यालय प्रवेश गराउँदा उपमेयर डंगोलसँग पनि विवाद गरेका थिए । तोडफोडको अवस्था सिर्जना भएपछि दोस्रो तलामा रहेको आफ्नो कार्यकक्षबाट तेस्रो तलामा उक्लिएकी उपमेयरलाई राजुले मेयरको आदेश भन्दै दबाउन खोजेका थिए ।

कामुलाई बचाउन बाझिने कानुन

लामो समयदेखि महानगर प्रहरी बलमा कार्यरत राजु सबैभन्दा अल्छी स्वभावका थिए । काम नगर्ने र भनेको पनि नटेर्ने हुनाले विद्यासुन्दर शाक्यले रोकिरहेका थिए । बालेन आएपछि धनपति सापकोटालाई सहायक बनाएर राजीनामा दिन बाध्य पारियो । कामु बनाउनै पर्दा पनि राजुभन्दा विष्णु जोशी वरिष्ठ  थिए । तर, उनलाई पनि पाखा लगाएर राजुलाई कामु प्रमुखमा नियुक्त गरियो । 

संघीय कानुनबमोजिम कामुको कार्यावधि जम्मा ६ महिनाको हुन्छ । त्यसपछि प्रमुख नियुक्ति गर्नुपर्छ नै । तर, उनका लागि संघीय कानुनसँग बाझिनेगरी महानगरले कानुन बनाएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र कानुन विभागका प्रमुख वसन्त आचार्यको मिलेमतोमा बनाइएको ‘नगर प्रहरी ऐन’ नगरसभाले पारित गरेर कार्यान्वयनमा छ । सो ऐनमा कामुको समयावधि तोकिएको छैन । नयाँ व्यवस्था नभएसम्म कामुले नै जिम्मेवारी सम्हाल्न पाउने उल्लेख छ । तर, नयाँ व्यवस्था कहिले गरिने ? भनेर लेखिएको छैन । कामु भए पनि राजुले प्रमुखले पाउने तलब, सेवासुविधा लिइरहेका छन् ।

स्रोत भन्छ, ‘जो त्यो पदका लागि योग्य छ, उसैलाई टार्गेट गरेर कामु दिइने हो । तर, सिनियर हुँदाहुँदै राजुलाई  बनाइयो । संघीय कानुनसँग बाझिनेगरी स्थानीय तहले कानुन बनाउन मिल्छ ?’ दुवै वसन्त नुवाकोटे हुन् । राजु नगरसभाबाट नियुक्त भएकाल उसले नै हटाउन सक्ने स्रोतको भनाइ छ । आफ्नो अनुपस्थितिमा तलमाथि हुनसक्ने कै कारण बालेन सोमबार जापान गएनन् ।  

‘अघाएपछि’ डिजिटल बोर्डको लाइन काटिँदै

बालेनले निर्वाचित हुनेबित्तिकै महानगरलाई होर्डिङ बोर्ड र डिजिटल बोर्डमुक्त बनाउने घोषणा गरेका थिए । जुन अहिलेसम्म पनि पुरा हुन सकेको छैन । महानगरभित्र एक सय बढी डिजिटल बोर्ड जडान भएको छ । जसमध्ये अधिकांश अवैधानिक छ । दर्ताबिना ती बोर्ड सञ्चालनमा थिए । राजश्व विभागका प्रमुख दीपक अधिकारी र राजुनाथको सेटिङमा ती बोर्डलाई सञ्चालन गर्न दिइएको थियो । राजश्व नतिरिकन सञ्चालित बोर्डको अस्तिबाट लाइन काट्न थालिएको छ । महानगरका एक कर्मचारीले ‘अघाएपछि’ लाइन काट्न शुरु गरिएको बताए । 

विभागीय प्रमुख हेरफेरको तयारी

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले कर्मचारी हेरफेरको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ । मेयरले कर्मचारी चलाउन पाउँदैनन् । तर, महानगरमा ठ्याक्कै उल्टो छ । संघीय सरकारको बजेट आउने मिति नजिकिँदै गर्दा महानगरको बजेटको तयारी थाल्ने कुनै सुरसार छैन । बरु, कर्मचारी हेरफेर गर्न लागिएको छ । वातावरण विभागमा रविनमान श्रेष्ठलाई ल्याउने तयारी छ । रविमानको गाडी राजुले उनको घरमै गएर खोसेका थिए । पहिले पनि त्यही विभागको प्रमुख रहेका उनलाई हटाएर आठौं तहलाई निमित्त दिइएको थियो ।

प्रशासनमा नमराज ढकाललाई ल्याइँदैछ । उनलाई हटाएर दीपक अधिकारीलाई प्रशासनको जिम्मा दिइएको थियो । त्यसपछि ध्रुवकुमार काफ्लेले प्रशासन सम्हाल्ने जिम्मा पाए । तर, ध्रुवकुमारले सचिवालयका कर्मचारीले भनेअनुसार काम गर्न नमानेपछि पुनः नमराजलाई ल्याउन थालिएको हो ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here