राजीनामा नै अन्तिम विकल्प नभएको तर्क

काठमाडौं । नेकपा (एमाले)का घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरू माधवकुमार नेपाललाई भेट्न बुधबार साँझ उनको निवास कोटेश्वर पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् अडानबाट टसको मस नभएपछि नेता नेपाल तनावमा हुने नै भए, २७ गते आफ्ना पक्षका सांसदहरूलाई सामूहिक राजीनामाको सहमत गराउन नसक्दा उनी थप संकटमा छन् ।

frontline

बुधबार माधव नेपालले घनश्याम भुसालसहितका नेतालाई ‘ओली कुनै पनि हालतमा सहमतिमा नआउने र उनले पार्टी एक होस्’ भन्ने नचाहेकाले राजीनामाको विकल्प सोच्न नसकिने निष्कर्ष सुनाएको एक नेता बताउँछन् ।

“राजीनामा दिएर सहयोग गरिदिनुस् । तपार्ईंहरूको बाँकी राजनीतिक जीवनको सुरक्षाको जिम्मा म लिन्छु । तपाईंहरू कसैको पनि राजनीतिक भविष्य समाप्तीको दिशामा जाँदैन,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

तर, त्यहाँ पनि केही नेताहरूले राजीनामा नै अन्तिम विकल्प नभएको तर्क अघि सारेको छलफलमासहभागीहरू बताउँछन् । केही नेताले राजीनामालाई थाती राखेर अरू उपाय खोज्नुपर्ने धारणा अघि सारेको नेपालनिकट नेताहरू बताउँछन् ।

“राजीनामा नै उत्तम विकल्प होइन । राजीनामा नै दिने हो भने पनि त्यो समय घर्किइसकेको छ । अहिले राजीनामा दिँदा त्यसको जस्टिफाइ पनि हुन सक्दैन । पार्टीभित्रको अन्तरसंघर्षलाई जारी राखौँ, त्यसैको बलमा ओलीलाई कमजोर बनाएर आन्दोलनलाई फुट र विभाजनबाट जोगाऔँ,” नेताहरूको निचोड उद्धृत गर्दै एक नेता सुनाउँछन् ।

त्यसो त बुधबार नै नेता नेपाल भेट्न ओली पक्षका नेता गोकुल बाँस्कोटा कोटेश्वर पुगेका थिए । त्यति बेला गोकर्ण विष्ट पनि सँगै थिए । भेटमा सामान्य कुराकानी भएको बाँस्कोटाले बताए ।

नेपाल समूहमा पनि विभाजन
एमालेभित्रको विग्रह उत्कर्षतिर अभिमुख हुँदै जाँदा खनाल–नेपाल समूहमा पनि विभाजन आएको छ । अहिले नै पार्टीलाई विभाजित गर्दा नयाँ आन्दोलन विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने दृष्टिकोणमा मत बाझिएको एक नेता बताउँछन् । त्यसले समूहमा फाटो ल्याएको पनि उनको निष्कर्ष छ ।

खनाल–नेपाल समूहमा नेता नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुसाललगायत नेताहरू ओलीसँग मिल्नै सकिँदैन, नयाँ पार्टी, आन्दोलन निर्विकल्प बनिसकेको छ भन्ने निचोडमा बाँधिएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत मध्यमार्गी नेताहरू मिल्न सकिन्छ भने मध्यविन्दुको खोजी गर्नुपर्छ भन्नेमा छन् ।

मत विभाजनकै कारण २७ गते सामूहिक राजीनामाबाट खनाल–नेपाल समूह पछि हटेको सांसद मेटमणि चौधरी बताउँछन् । यो निर्णयले सम्भावित दुर्घटना टारेको उनको ठहर छ ।

“दुईजना वरिष्ठ नेता कायम राख्न ओली तत्पर छन् । तर, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य पदाधिकारीहरू रहेको ओली हेर्न चाहँदैनन्,” ओली पक्षका एक नेता जिकिर गर्छन्, “नेपाल समूहमा भविष्य भएका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसँग उनी निरन्तरजसो संवादमा छन् ।”

भट्टराईलाई त प्रदेश नम्बर–१ को इन्चार्ज बनाएर झापा–१ बाट चुनाव लड्ने वातावरण बनाउनेसम्मको प्रस्ताव गरेको ओली पक्षको जिकिर छ । खनाल–नेपाल समूहका बाँकी शीर्षस्थलाई ओलीले बेवास्ता गर्दै आएका छन् ।

यही वैशाख २३ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीले घनश्याम भुसाल, योगेश भट्टराईसँग लामो छलफल गरेका थिए । त्योभन्दा अघि संगठन विभाग प्रमुख तथा अर्थमन्त्री विष्णु पौडेलले घनश्याम भुसाल, योगेश भट्टराई र सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए । भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत प्रभावशाली नेताहरूलाई बालुवाटारले संवादको पहल गरेको छैन । रावल, ज्ञवाली, शाक्यविहीन एमाले नै उनीहरूको चाहना–रुचि रहेको ओलीपक्षीय बताउँछन् ।

यो सबैको जोड समूहमा फुट पैदा गर्न खनाल–नेपाल पक्षलाई कमजोर बनाउन नै रहेको नेताहरूको बुझाइ छ ।

“अहिले नेता नेपाल भीम रावल, युवराज ज्ञवालीको रोडम्यापमा हुनुहुन्छ । त्यसकारण नेपाल ओलीसँग मिल्न सकिँदैन भन्ने निचोडमा हुनुहुन्छ,” कांग्रेसले राजीनामा दिन तयार भए जुनसुकै मूल्य चुकाएर भए पनि सघाउने वचन पनि दिइरहेको छ । यो सबै हेर्दा एमाले एक होलाजस्तो लाग्दैन,” एक नेता निचोड सुनाउँदै भन्छन् ।

४४ बाट २८ सांसदमा खुम्चिए नेपाल
नेकपा छँदा नेता नेपालसँग ४४ सांसद मौजुद थिए । पुस ५ गतेको कदमपछि शेरबहादुर तामाङलगायत केही सांसद प्रतिनिधिसभा विघटनको पक्षमा खडा भए, नेपाल ३५ मा झरेका थिए ।

वैशाख २७ को विन्दुमा आइपुग्दा २८ सांसदमात्रै अनुपस्थित हुन मञ्जुर रहे । खनाल–नेपाल समूहलाई साथ दिँदै आएका दैलेख–२ का सांसद राजबहादुर बुढाक्षेत्री, दाङ–३ का हिराचन्द्र केसी पनि ओलीलाई विश्वासको मत दिने कित्तामा उभिए ।

राजीनामा नै दिनुपर्ने नेता नेपालले अडान राखिरहँदा सुनसरी–१ का सांसद जयकुमार राई त्यो कित्तामा उभिन नसक्ने बताउँदै आइरहेका छन् । सामूहिक राजीनामातिर अग्रसर हुँदा संख्या घटेर १५ मा सीमित हुने त होइन भन्ने जोखिम रहेको खनाल–नेपाल समूहका नेता बताउँछन् ।

सामूहिक राजीनामा दिँदा पनि संख्या नपुग्ने भय
सामूहिक राजीनामाबाट खनाल–नेपाल समूहका सांसदहरू पछि हट्दै जाँदा गठबन्धनतर्फ संख्या नपुग्ने भय बढ्दै गएको छ । अहिले संसद्मा २७१ सांसद संख्या कायम छ । सरकार बनाउन १३६ मत आवश्यक पर्छ ।

खनाल–नेपाल समूहका २० सांसदले राजीनामा दिने हो भने त्यो संख्या २५१ मा झर्छ । सरकार बनाउन १२६ मत भए पुग्छ । २७ गते विश्वासको मत लिँदा विपक्षमा १२४ मत परेको थियो । त्यसमा दुई मत थपिनेबित्तिकै गठबन्धनको पल्ला भारी भइहाल्छ ।

तर, राजीनामाको २० बाट तल ओर्लनेबित्तिकै गठबन्धनको पक्षमा बहुमत नपुग्ने जोखिम रहेको नेता बताउँछन् । यसकारण कि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले निकै जोडबल गरिरहेका छन् । २७ गते उनीहरू पक्षका १५ सांसद तटस्थमा मत हाले । अब न्यूनतम पनि तीनजना सांसद आफ्नो पक्षमा थपिने जिकिर उनीहरूले गरिरहेका छन् ।

यसले पनि खनाल–नेपाल समूहलाई झस्काएको नेताहरू बताउँछन् । “यता पार्टी पनि नबच्ने, अर्को गठबन्धनतिर बहुमत पनि नपुग्ने र मुलुक चुनावमा जाने परिस्थिति बन्न सक्छ । फेरि, विधि, पद्धतिको कुरा उठाएर ओलीसँग छुट्टिने र नेपाली कांग्रेससँग सत्तासाझेदारी, उसकै सहयोगमा उपचुनाव जित्ने कुरा राजनीतिक र सैद्धान्तिक दुवै हुँदैन भन्ने मत पनि खनाल–नेपाल समूहमा बढ्दो छ,” समूहका एक नेता भन्छन् ।

‘ओलीले सम्झौता गर्दैनन्’
केपी ओलीले कुनै हालतमा झुक्दैनन्, सम्झौताका लागि तत्पर हुँदैनन् भन्ने दुवैतर्फको समान बुझाइ छ ।

विश्वासको मतअगाडि खनाल–नेपाल समूहसँग सम्झौता गरेको भए उनको सत्ता जोगिन्थ्यो । सत्तारूढ एमाले आफैँसँग १२१ मत थियो । जनता समाजवादी पार्टीको १५ मत ओगटेको एउटा हिस्सा तटस्थताका निम्ति तत्पर छँदै थियो । तर, ओलीले खनाल–नेपालसामु घुँडा टेक्न चाहेनन् । अदालतले फैसला गरेअनुरूप २०७५ जेठ २ मा फर्कन चाहेनन् । परिणामतः उनी असफल भए ।

फेरि पनि उनी खनाल–नेपालसँग सम्झौता गर्दैनन् भन्नेमै इतरपक्ष अडिएको छ । “त्यसले पनि नेपालको बुझाइमा राजीनामा विकल्पहीन विकल्प बनेको हो,” ओलीनिकट नेता भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here