राजावादीलाई प्रतिवाद, सरकारलाई प्रश्न

राजावादीहरूको सक्रियता बढेसँगै अभियान स्थगित गरेर काठमाडौं फर्किएका प्रचण्डले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुईतिहाइ बहुमतको सरकार लोकतन्त्रका लागि घातक हुँदै गएको टिप्पणी गरे ।

२७ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको नाममा राजावादीहरू काठमाडौंमा शक्ति प्रदर्शनको तयारीमा जुटेपछि ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौं आएका थिए ।




काठमाडौंमा राजवादीहरूको सक्रियता बढ्दैनथ्यो भने प्रचण्ड मंगलबार चितवनमा हुने थिए । किनभने मंगलबार पार्टीको अभियान अन्तर्गत चितवन पुग्ने कार्यक्रम तय थियो ।
गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले जयजयकार गर्दै विमानस्थल निर्मलनिवाससम्मै पुर्याए । यसले गणतन्त्रमाथि चुनौती बढाएको विश्लेषण सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा देखियो, सुनियो ।
राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउन दशवर्ष सशस्त्र संघर्ष गरेको दल माओवादीका अध्यक्ष प्रचण्ड प्रतिगामी चलखेल बढेको निष्कर्षसहित सोमबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहे । मंगलबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गरेका उनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन माओवादीले भूमिका खेलेको स्मरण गर्दै यसलाई जोगाएरै अगाडि बढ्ने दायित्व दृढतापूर्वक निभाउने जिकिर गरे ।
२५ मिनेट बोलेका प्रचण्डले जनतामा असन्तुष्टि बढ्नुको कारण वर्तमान सत्ताधारी दलहरूको अलोकप्रिय कामलाई जनता असन्तुष्ट हुनुको मुख्य कारण दर्शाए ।

‘म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न रोस्ट्रममा उभिएको छु कि एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भएको छ,’ प्रचण्डले सुरुमै भने ।
मंगलबार सम्बोधनका क्रममा प्रचण्ड घरी सत्ताको आलोचना गरिरहेको सुनिए घरी राजावादीको । सरकार चलाइरहेका एमाले–कांग्रेसको गलत कार्यशैलीले राजावादीको चलखेल बढेको भनेर सत्ता र राजावादीलाई एकैठाउँमा राख्ने प्रयास पनि गरे, प्रचण्डले ।
संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन माओवादीले भूमिका खेलेको स्मरण गर्दै उनले यसलाई जोगाएरै अगाडि बढ्ने दायित्व लिएर पार्टीलाई अगाडि बढाउने दृढता व्यक्त गरे ।
माइतीघर देखाएर प्रश्न
प्रचण्डले सत्तासँग विमति राख्नुको पृष्ठभूमि यसरी केलाए ।
‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन,’ प्रचण्डले विगत सम्झिए ।
आठ महिना अगाडि प्रचण्ड प्रधानमन्त्री थिए । कांग्रेसले प्रचण्डलाई छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली रोजेपछि प्रचण्ड सरकारबाट बहिर्गमित हुन पुगे ।
सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ– ‘हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ?’
प्रचण्डले त्यही आठ महिना अगाडिको परिस्थितिसँग वर्तमान परिस्थिति तुलना गरे, ‘त्यसबेला माइतीघर लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याजपीडितले सीडीओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नुपरेको छ । गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित भएका छन् । देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।’
समाजका सबै वर्ग आन्दोलनको मुडमा रहेको प्रचण्डले सुनाए ।
‘दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित होउन् वा महिला म सबैलाई आज आन्दोलनमै देखिरहेको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौं ।’
यस्तो परिस्थिति किन बन्यो भन्ने उनको प्रश्न थियो । सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ– ‘हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ?’
परिस्थितिको मूल्यांकन गरेर जनतासँग संवादमा बस्न सरकारलाई सुझाएका प्रचण्डले ‘सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ?’ भन्दै प्रश्न गरे ।
प्रचण्डले संसदमा सम्झाएको बंगलादेश-श्रीलंका
नागरिकमा रहेको असन्तोषको उदाहरण दिन माइतीघरमा भइरहेका प्रदर्शनलाई देखाएका प्रचण्डले सरकारको कार्यशैलीकै कारण पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको भनेर सत्ता र राजावादीलाई जोड्ने प्रयास गरे ।
‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन्,’ प्रचण्डले भने ।
सरकारको विश्वसनीयता कम भएका बेला देश बाहिरबाट समेत चलखेल भएको प्रचण्डको गम्भीर आशंका छ, ‘राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’
प्रचण्डको चेतावनी छ, ‘त्यो उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर पनि हेक्का राख्न जरुरी छ ।’
विगतमा पनि राजावादीको चलखेल हुने गरेको उल्लेख गर्दै प्रचण्डले पछिल्लो समयमा बृद्धि हुनुको कारण खोज्नुपर्ने बताए ।
‘…यसखालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर, अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ,’ प्रचण्डले भने, ‘पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यस (राजावादीको चलखेल)को मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’
गणतन्त्रमै ठाउँ खोज्न सुझाव
प्रचण्ड प्रतिपक्षी बेन्चमा सँगै रहेको राप्रपालाई विश्वासमा लिने प्रयास गरिरहे । कतै चेतावनी दिए भने कतै लोकतान्त्रिक गणतन्त्रमै खोजिने अस्तित्व दिगो हुने सुझाए ।
नेपालको परिवर्तन मौलिक र उदार रहेको ख्याल गर्न पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको राय छ । उनले भने, ‘पूर्वशाही परिवारमाथि हिंसा त परको कुरा, निर्वासनसमेत नतोकी, पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कसैले बिर्सनु हुँदैन ।’
समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई
नेपालको शान्तिप्रक्रिया मात्र नभएर गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको प्रमाण यही रहेको उनले बताए । संसारमा राजतन्त्र अन्त्य हुँदा नेपालको जस्तो अवस्था नरहेको ख्याल गर्न उनले चेतावनीसमेत दिए ।
नेपालको इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुने प्रचण्डको चेतावनी छ, ‘त्यो उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर पनि हेक्का राख्न जरुरी छ ।’
क्रान्तिको इतिहास पढ्न र गणतन्त्रको जग कति फराकिलो छ भन्ने बुझ्न आग्रह गर्दै उनले सीमित माओवादीले उठाएको बन्दुकका कारणले मात्रै परिवर्तन नभएको बताए । उनका अनुसार देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा गणतन्त्र आएको हो । सार्वभौम भइसकेका जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै नसक्ने उनको चेतावनी छ ।
चेतावनी सँगसँगै प्रचण्डले राजावादीहरूलाई राजतन्त्रकालीन समय ख्याल गर्न सुझाए । इतिहास सम्झिएर गणतन्त्र कति लाभदायक ६ भन्ने तुलना गरेर आफ्नो अस्तित्व खोज्न आग्रह गरे ।
‘हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरू सम्मानित संसद्मै हुनुहुन्छ । यसकारण लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ?’ प्रचण्डको प्रश्न छ ।
राजावादीको प्रदर्शनलाई केही पनि होइन भनेर उपेक्षा गर्न सत्तालाई सचेत गराएका प्रचण्डले आफू पनि त्यस्तो उपेक्षा गर्ने पक्षमा नरहेको प्रष्ट्याए ।
अध्यक्ष प्रचण्डका अनुसार एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन् । सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ ।
यी उदाहरण दिँदै प्रचण्डले राजावादीकै विश्वास जित्ने प्रयास गरे । लोकतन्त्रभित्रै आफ्नो अस्तित्व खोज्न सुझाए ।
‘राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन,’ प्रचण्डले भने, ‘लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ ।’
यो संवैधानिक अधिकारलाई कमजोरी नठान्न र लोकतन्त्रका मूलभूत सिद्धान्त मानेर संवैधानिक र लोकतान्त्रिक बाटो रोज्न प्रचण्डको सुझाव छ ।

राजावादीको प्रदर्शनलाई केही पनि होइन भनेर उपेक्षा गर्न सत्तालाई सचेत गराएका प्रचण्डले आफू पनि त्यस्तो उपेक्षा गर्ने पक्षमा नरहेको प्रष्ट्याए ।
‘विदेशी षड्यन्त्र होलान्, विगतमा हामीले देख्ने गरेका छौं । अस्तिको प्रदर्शनमा पनि देख्यौं, को कसका फोटो टाँसिए, इत्यादी तर म त्यसलाई प्रमुख मान्दिनँ,’ प्रचण्डले भने, ‘मुख्य कुरा त त्यहाँ उत्रिएका नेपाली जनता हुन् । त्यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ ।’
राजावादीको प्रदर्शनपछिको परिस्थिति गिजोल्नेतिर नलागेर असन्तुष्टि सम्बोधन गर्न पनि सरकारलाई उनको आग्रह छ । ‘सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ– यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईंहरूको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन ।’
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सत्ता र राजावादी दुवैबाट खतरा हुन सक्ने भन्दै उनले खबरदारी गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहकार्यको परिणाम भएको उल्लेख गर्दै उनले शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू रहेको स्मरण गराए । अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा अस्पतालमा आफ्नो हात समातेर संविधान र लोकतन्त्र तपाईंको जिम्मा भनेको सुन्ने नेताहरू संसद्मै रहेको उनले स्मरण गराए ।
‘उहाँलाई दिएको वचनलाई साक्षी राखेर शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु, यो संसद्लाई विश्वास दिलाउँछु– प्रगिगमन सफल हुन दिइनेछैन,’ प्रचण्डले भने ।
देशभरिका लोकतान्त्रिक शक्तिहरूको साथ लिएर प्रतिगमन रोक्ने दृढता प्रचण्डले पटक–पटक दोहोर्याए ।
खबरदारीको सन्देश
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सत्ता र राजावादी दुवैबाट खतरा हुन सक्ने भन्दै उनले खबरदारी गरेका छन् ।
‘एकातिर राजावादी साथीहरू सडकमा हुनुहुन्छ, सदनमा पनि हुनहुन्छ । उहाँहरूका उद्देश्य प्रष्ट छन्, उहाँहरूले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ,’ प्रचण्डले भने, ‘अर्कातिर सरकारको कुशासन छ । लोकतन्त्रलाई जति ठूलो चुनौती बाहिरबाट छ, सत्तासिन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरा बिर्सनु हुँदैन ।’
सत्तारुढ दलका नेताहरूले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिराखेको उनले बताए । संसद् प्रतिपक्षको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको स्मरण गर्दै उनले यसअनुसार व्यवहार नभइरहेको गुनासो गरे ।
‘प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैं खोज्नोस्,’ प्रचण्डले भने ।
प्रचण्डको दाबी- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ
मंगलबार संसद्मा विशेष समय लिएर प्रचण्ड बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । यसअघि पनि संसद्मा बोल्दा प्रचण्डले प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर असन्तुष्टि पोखेका थिए । यसअघि प्रचण्डले गत २४ माघमा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । त्यसबेला प्रचण्डले सुरुमै प्रधानमन्त्री ओली खोजेका थिए ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ,’ प्रचण्डले भनेका थिए ।
मंगलबार प्रचण्ड बोल्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित रहे । प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर गएका थिए । प्रचण्डले ओलीको अनुपस्थितिलाई लोकतन्त्रकको मूल्य र मान्यतालाई उपेक्षा गरेको रूपमा ब्याख्या गरे ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्टि पोखेपछि प्रचण्ड सरकारको कायैशैलीमाथि खनिए । बिचौलियाको हितका लागि सरकारले धमाधम अध्यादेश ल्याएको आरोप लगाए । सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसद्मा विचाराधीन विधेयक अघि बढाउन अनिच्छिुक देखिएको पनि बताए ।
प्रचण्डको प्रश्न छ, ‘हिजो राजामहाराजाझैं पूरै सडक खाली गराएर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ?’
‘संघीय निजामती विधेययक, जो मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइपुर्याएको छु, विद्यालय शिक्षा लगायतका विधेयकहरू अहिले पनि सरकारकै कारण अघि बढ्न सकेका छैनन । यो आफैंमा गम्भीर विषय छ,’ प्रचण्डले भने ।
सरकारका यस्तै गतिविधिले गर्दा प्रतिगमनतिरको मनोबल बढेको आरोप लगाए । संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐन बनाएर सेवा प्रवाहमा चुस्तता ल्याउन नसके अझ गम्भीर र चुनौतीपूर्ण समय आउन सक्ने चेतावनी दिए ।
तर, सरकारको ध्यान नागरिकलाई सुन्ने भन्दा सरकारको आलोचना गर्नेलाई थुन्नेतिर रहेको प्रचण्डको आरोप छ ।
‘कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई निणन्त्रणमा लिइरहेको छ । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ?’ प्रचण्डको प्रश्न छ ।
प्रधानमन्त्री ओलीको सवारीप्रति पनि प्रचण्डको प्रश्न छ, ‘हिजो राजामहाराजाझैं पूरै सडक खाली गराएर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ?’
सरकारलाई प्रचण्डको प्रश्न : सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था किन आयो ?
प्रहरीमाथि भएको कटुपिट पनि प्रचण्डले स्मरण गरे, ‘सत्तारुढ पार्टीका कार्यकर्ताले आम नागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारवाही हुँदैन । यस्तो दण्डहीनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ कि वितृष्णा ? हेक्का राख्नुपर्ने विषय यो हो ।’
भ्रष्टाचारजन्य गतिविधिमा संलग्नमाथि सरकारले कारबाही अगाडि नबढाएको प्रचण्डको अर्को आरोप छ ।
‘पछिल्ला आठ महिनामा तपाईंहरूले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ । एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थीए काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईंहरूप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ?’ प्रचण्डको प्रश्न छ ।
दुईतिहाइको घोडा कसले दौडाउँदैछ ?
आत्मसमीक्षासहित राजनीतिक दलहरू अगाडि बढ्न आवश्यक रहेको प्रचण्डको आग्रह छ । ‘गल्ती हाम्रा पनि भए । हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनताप्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन् जटिल हुनसक्छन्,’ उनले भने । तर, र्तमान सरकार आत्मसमीक्षा तिर नभएर घमण्डतिर रहेको उनको आरोप छ ।
‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दै छ । तर, दुईतिहाइको घोडा कसले दौडाएको छ ?,’ प्रचण्डको प्रश्न छ ।
दुई ठूला दलको दुईतिहाइ बहुमतको सरकार लोकतन्त्रका लागि घातक हुँदै गएको प्रचण्डको टिप्पणी छ ।
स्वार्थ समूहले सरकार चलाइरहेको उनको टिप्पणी छ । ‘जोड दिएर भन्न चाहन्छु– सरकारको दुईतिहाइको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् ।’
बिचौलियाले सरकार चलाएको प्रमाण सरकारका नीति, निर्णय र नियुक्ति रहेको उनको दलिल छ ।
‘तपाईंले गर्ने नियुक्ति, तपाईंहरूले गर्ने सेटिङ, तपाईंहरूले गरेको मैले देख्दिनँ, ती त बिचौलियाहरूले निर्णय गरेअनुसार भएको देखेको छु,’ प्रचण्डले भने । आफँैले गरेको कुनै निर्णय भए देखाउन प्रचण्डको चुनौती छ ।
‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’ प्रचण्ड आक्रामक सुनिए, ‘तपाईंहरूका संयन्त्र, समिति, बैठक, यी सबै नाटक जस्ता मात्र देखिएका छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ ।’
प्रचण्डको आरोप- सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्
दुई ठूला दलको दुईतिहाइ बहुमतको सरकार लोकतन्त्रका लागि घातक हुँदै गएको प्रचण्डको टिप्पणी छ ।
‘तपाईंहरू दुईतिहाइ भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरलाई चार नम्बरमा फालिदिए पनि भयो, जे–जे गरे पनि भएको छ किनकि तपाइँहरूसँग दुईतिहाइ छ,’ प्रचण्डले भने ।
तर, दुईतिहाइ बहुमतको सरकारको यस्तो कार्यशैली गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा रहेको उनले बताए ।
बेथिति र विकृति सरकारले नै बोकेको उनको अर्को आरोप छ । ‘व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ,’ उनले भने ।
प्रतिगमनकारीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली नसच्चिएको भन्दै उनले थपे, ‘अनि, लोकतन्त्र जोखिममा पर्दैन त ?’
रास्वपालाई ढाढस
माओवादी अध्यक्ष प्रचण्डले अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ढाढस दिने प्रयास पनि गरे । रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनिदिए ।
अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । त्यसले लोकतन्त्र प्रतिको जनआस्थामा परेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस्,’ प्रचण्डले भने ।
रास्वपाले पनि सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गर्दै आएको छ । यही बेला प्रचण्डले लामिछानेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका हुन् ।
गत ८ पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको संसद् पद निलम्बन हुने निर्णय गरेका थिए ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको थियो ।
सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय लिएका थिए ।
‘…प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सभामुखको निर्णयपछि संघीय संसद् सचिवालयले निकालेको सूचनामा उल्लेख छ ।
सर्वसाधारणसँग प्रचण्ड : मुसुक्क हाँस्ने, हालखबर सोध्ने
रास्वपाले पनि सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गर्दै आएको छ । तर, सभामुखले कुनै निर्णय लिएका छैनन् । यही बेला प्रचण्डले लामिछानेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका हुन् ।
रविबारे सरकारले लिएको नीति र त्यसअनुसार भइरहेको गतिविधिले लोकतन्त्रलाई मद्धत नगरिरहेको बताए ।
‘हिरासतमा नभएको नेतालाई संसद्मा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं,’ प्रचण्डले भनेका छन्, ‘सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस् ।’
प्रतिक्रिया दिनुहोस्