राजस्व विभागको सफ्टवेयर ह्याक गरेर भाटभटेनीको कर बढाएको आरोपमा २ जना पक्राउ
आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्याई करको दर हेरफेर गरेको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए ।
करको दर हेरफेर गरेको भन्दै विभागले सीआईबीलाई २५ पुसमा पत्र लेख्दै अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।
पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्ममा लेखापरीक्षण गर्ने व्यक्ति रहेको एसपी शाहीले बताए । पक्राउ परेकाहरूविरुद्ध विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।
अडिट फर्मको तर्फबाट विभागको सिस्टमा प्रवेश गरी करदाताहरूको कारोबार विवरण आफू अनकूल बढी, घटी बनाई लाभ लिने उदेश्यले भाटभटेनीको करको दायरा बढाइएको अनुसन्धानबाट खुलेको छ । कूल पठाउनु पर्ने करमा आफू अनकूलका व्यक्तिको कम देखाउने त्यस वापतको रकम अर्को करदाताको बढाउने गरेको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्