राजस्थान प्लेअफमा, दिल्लीको सम्भावना कायमै
लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौड जीवितै राखेकको छ।
मंगलबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो। प्लेअफको बाटो खुला गर्न दिल्लीले यो खेल जित्न आवश्यक थियो।
जितसँगै दिल्लीको १४ अंक पुगेको छ। यदि चेन्नई सुपर किंग्स र लखनउले आगामी खेलमा हार बेहोरेमा दिल्लीले केही अवसर पाउनेछ।
यदि सनराइजर्स हैदरावादले आगामी दुवै खेलमा हार बेहोरेको खण्डमा दिल्लीका लागि अगाडि बढ्ने बाटो खुल्नेछ। चेन्नई र रोयल च्यालेन्जर्स बेंग्लोरले पनि दिल्लीको समीकरण बिगार्न सक्छ। दिल्लीको यो जितसँगै १२ खेलमा १६ अंक जोड्दै दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स प्लेअफमा प्रवेश गरेको छ।
१३ खेलबाट १८ अंक जोडेको कोलकाता नाइट राइडर्स पहिले नै प्लेअफ पुगिसकेको छ। पराजित लखनउको भने प्लेअफ सम्भावना कमजोर बनेको छ। लखनउ १३ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ।
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्रै बनाउन सक्यो।
लखनउका निकोलस पूरनले सर्वाधिक ६१ रन बनाए। २७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। क्रुणाल पाण्ड्या १८ र युद्धवीर सिंह १४ रनमा आउट हुँदा अरशद खान ५८ रनमा अविजित रहे।
दिल्लीका इशान्त शर्माले सर्वाधिक ३ विकेट लिए। खलील खान, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।दिल्लीका अभिषेक पोरेलले सर्वाधिक ५८ रन बनाए। ३३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।
शाई होप ३८ र कप्तान ऋषभ पन्त ३३ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स ५७ र अक्षर पटेल १४ रनमा अविजित रहे। लखनउका नवीन उल हकले २ विकेट लिए। अर्शद खान र रवि बिश्नोईको नाममा १/१ विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्