राजनीतिक स्थिरताका लागि अब मुलुक अर्ली निर्वाचनमा जान्छ : नेता कोइराला

कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना भएसँगै अब राजनीतिक स्थिरताका लागि मुलुक अर्ली निर्वाचनमा जाने बताएका छन् । कोइराला निवासमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अब संसद्‌मा संख्याको खेल सुरु हुने भएकाले समयअगावै निर्वाचन हुने बताएका हुन् । संविधानको धारा १०० बमोजिम कुनै पनि दललाई बहुमत प्राप्त गर्न कठिन रहेकाले एक वा डेढ वर्षभित्र मुलुक निर्वाचनमा जाने कोइरालाको भनाइ थियो ।अहिले कांग्रेस पर्ख हेरको भूमिकामा रहनुको विकल्प नभएको उनले बताए । ‘कांग्रेसले नेकपा फुटोस् भन्ने चाहँदैन तर नेकपा दुवै समूह कसरी अघि बढ्छ त्यो महत्वपूर्ण छ,’ कोइरालाले भने, ‘सर्वोच्चले १३ दिनभित्र संसद् बोलाउन आदेश गरेकाले प्रधानमन्त्री केपी ओलीले संसद्‌को सामना गर्ने कि विश्वासको मत लिनु हुन्छ कि अविश्वासको प्रस्ताव आउँछ त्यो हेर्न बाँकी छ ।’ नेकपाको दुबै समूहले के गर्छ त्यसको आधारमा कांग्रेसले रणनीति बनाएर अघि बढ्ने उनले बताए ।

‘नेकपा दाहाल–नेपाल र ओली समूह फुट्ने संघारमा भए पनि फुटिसकेको अवस्था नभएकाले कांग्रेसले दुबै समूहसँग कुरा गर्नुको औचित्य छैन,’ उनले भने, ‘तर कांग्रेसले सबै दललाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’कोइरालाले पुस ५ गतेपछि नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुलाई खारेज गर्नुपर्ने बताए । ‘शक्ति सन्तुलनको सिद्धान्तमा संवैधानिक परिषदं‌मा भएको व्यवस्था पुस ५ गतेपछि अध्यादेश ल्याएर असन्तुलन बनाएकाले त्यो पनि सच्चिनु पर्छ,’ उनले भने, ‘यसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि जनताले शंकाको घेरामा राखेका छन् ।’कांग्रेस अब पार्टी महाधिवेशनमा जुट्नुको विकल्प नभएको उनले बताए । ‘केन्द्रदेखि वडासम्मका पार्टीका साथीहरुले महाधिवेशनमा केन्द्रित भएर काम गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि क्रियाशील सदस्यता छानबिन समिति बनेको र समितिले सदस्यता छानबिन गरिरहेको र पार्टी समायोजनको काम पनि अन्तिम चरणमा पुगेकाले सबैलाई महाधिवेशनमा केन्द्रित हुनुपर्छ ।’ अब पनि महाधिवेशनका लागि ढिलाइ गर्ने हो भने पार्टीको औचित्य नै समाप्त हुने संवैधानिक संकट रहेकाले सबैलाई सचेततापूर्वक अघि बढ्नु पर्ने कोइरालाले बताए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here