राजतन्त्र अन्त्यपछि पहिलोपटक कुलदेवता सम्झँदै पुर्ख्यौली थलोमा ज्ञानेन्द्र

जाआजामा बिताए दुई घण्टा, भने- देशमा शान्ति छैन

जानकारहरूका अनुसार, विसं २०६२ सालमा पूर्वराजा शाह नागरिक अभिनन्दनका लागि गोरखा आइपुगेका थिए, त्यसयता कुलदेवताको पूजाका लागि दक्षिणा पनि पठाउने गरेका थिएनन्

९ चैत, गोरखा । राजतन्त्र अन्त्यपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलोपटक शनिबार पुर्ख्यौली थलो गोरखा आइपुगेका छन् ।

frontline

जानकारहरूका अनुसार, उनी विसं २०६२ मा नागरिक अभिनन्दनका क्रममा गोरखा आइपुगेका थिए । शाहवंशीय राजाहरूको कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा शाह शनिबार गोरखा आएका हुन् ।

उनले मन्दिरमा पूजाअर्चनाका लागि झण्डै दुई घण्टा समय बिताए । नागरिक स्वागत समाज, गोरखाका सदस्य होम सिं बस्न्यातका अनुसार, शाहले यसबीचमा कुलदेवताको पूजाका लागि दक्षिणा पठाउने गर्थे ।

यसपटक भने शाह आफैं गोरखा पुगेर कुलदेवताको पूजाअर्चनामा सहभागी भएका छन् ।

‘गोरखकाली मन्दिर शाह वंशका कुलदेवता हो, पहिले कतिपय बेला आफैं आउने र आउन नभ्याएको बेला दक्षिणा पठाउने गर्नुहुन्थ्यो,’ बस्न्यातले अनलाइनखबरसँग भने, ‘राजतन्त्र गएपछि पूजा गर्न पनि आउनुभएको छैन, दक्षिणा पनि पठाउनु भएको छैन ।’

पुख्र्यौली थलोमा आउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया शाहले दिएका छन् । कुलदेवताको पुजाआजा सकेर फर्कने क्रममा उनले केही सन्देश पनि दिएका छन् ।

देशमा शान्ति नभएको, कोही पनि केही गर्न डराउनु पर्ने अवस्था नभएको र शान्ति र विकासका लागि कामना गरेको पूर्वराजा शाहको भनाइ छ ।

नागरिक स्वागत समाजले प्रत्येक वर्ष पुख्र्यौली थलो गोरखा आउन आग्रह गर्दै पूर्वराजा शाहलाई ज्ञापन पत्र पनि बुझाएको छ । उक्त ज्ञापन पत्रमार्फत जनशक्ति तथा खर्च कटौतीका कारण गोरखकाली र गोरखनाथ पूजाआजामा परेको कठिनाइलाई सहज बनाइदिन माग गरिएको छ ।

भेटघाटकै क्रममा उनले एक सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया पनि दिए ।

‘कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् भन्ने मेरो कामना छ,’ उनले भनेका छन्, ‘कोही पनि केही गर्न डराउनु पर्दैन । देशमा शान्ति कायम होस् । देशमा विकास होओस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना गर्दछु ।’

यो पनि पढ्नुहोस

गोरखाबाट पूर्वराजाले भने- कोही डराउनु पर्दैन, देशमा शान्ति चाहिएको छ

पूर्वराजाको स्वागतमा के-के भयो ?

पञ्चेबाजासहित तनहुँको आँबुखैरेनीबाट मोटरसाइकल र्‍याली गरेर शाहलाई गोरखा दरबार पुर्‍याइएको थियो ।

सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका स्वयंसेवक समूहहरूको सहभागिता थियो । बिहान १० बजे गोरखा दरबार पुगेका उनी १२ बजेसम्म पूजाआजामा व्यस्त रहे ।

पुजाअर्चनापछि उनले भूकम्पपछि पुननिर्माण भएको गोरखा दरबार अवलोकन गरे । उनले बज्रभैरवको टिका र प्रसाद ग्रहणसमेत गरेका थिए ।

शनिबार चैत्र कृष्णअष्टमी गोरखकाली पूजा समेत रहेकाले सोही अवसर पारेर पूर्व राजा शाहले भ्रमणको कार्यक्रम तय गरेको उनको सचिवालयले बताएको छ ।

उनको स्वागत गर्न राजसंस्था तथा राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीका कार्यकर्ताहरू सम्मिलित १५१ सदस्यीय नागरिक समाज गठन भएको थियो ।

ज्ञानेन्द्रको भ्रमणको क्रममा उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर’ लगायतका नारा लगाए ।

गोरखकाली र गोरखनाथको पूजाआजा सकेपछि करिब एक बजे उनी ठूलोआँगनस्थित गोरखा संग्रहालय परिसरमा स्थानीयको स्वागत ग्रहणसँगै भेटघाटमा व्यस्त भए ।

शाह दिउँसो करिब दुई बजेतिर चितवनको कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा फर्केका छन् । शुक्रबार साँझ पनि उनी त्यही बसेका थिए ।

भोलि (आइतबार) बिहान मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बताए । ‘भोलि नितान्त पूजाआजा मात्र हो, कुनै भेटघाट कार्यक्रम छैन, पुजा सकेर सिधै काठमाडौं फर्कन्छौं,’ पाठकले अनलाइनखबरसँग भने ।

ज्ञानेन्द्र शाह पूर्वराजा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here