रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता

प्रहरीले आफूहरूलाई ‘प्रयोग’ गरेको आरोप

बुटवल । बुटवल सुप्रिम सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पूरक अनुसन्धानमा उजुरी दिएका बचतकर्ताहरूले एकपछि अर्को गर्दै रविविरुद्ध उजुरी नदिएको सार्वजनिक गर्न थालेका छन् । 

frontline

सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेविरुद्ध उजुरी नदिएको पछिल्लो एक सातामा ३ जना पीडितहरूले सामाजिक सञ्जालमा लेखेका छन् । 

जाहेरीकर्ताको पहिलो नम्बरमै नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको सामाजिक सञ्जालमा लेखेकी छन् ।

यसअघि जाहेरीकर्ता नारायण बहादुर पहराई र गीता आचार्यले पनि रकम फिर्ताका लागि प्रहरीले अनुमतिविनै रविविरुद्ध आफूलाई प्रयोग गरेको सार्वजनिक रूपमै बताएका थिए । 

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छाडिएका लामिछाने उच्च अदालतको आदेशमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । 

पूर्वडीआईजी छविलाल जोशी पनि उनीसँगै छन् । तर जीबी राईसहित अन्य फरार प्रतिवादीहरूलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनीहरूलाई खोजी गर्नेतिर ध्यान नदिएको तर रविलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको रास्वपा कार्यकर्ताहरूले आरोप लगाउँदै आइरहेका छन् । 

सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेकै थिएन । प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी आह्वान गरेर प्रतिवादी बनाएको रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे बताउँछन् । सहकारी पीडितको रकम फिर्ता गर्नुपर्नेमा सरकारले रविलाई पक्राउ मात्रै गरेको बचतकर्ताहरू बुझ्न थालेका उनी बताउँछन् । ‘त्यसै कारण एकपछि अर्को गर्दै बचतकर्ताहरूले सामाजिक सञ्जालमा लेख्न थालेका हुन्,’ उनले भने । 

पूरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित नाम सार्वजनिक गरेको थियो ।

रुपन्देही तिलोत्तमा  निवासी पूजा न्यौपानेले पनि सुप्रिममा केही रकम बचत गरेकी थिइन् । त्यो रकम फिर्ता नपाएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन् ।

496510720_1359459241942871_5489903319759513755_n

यता प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । उनले केहीअघि फेसबुकमा लेखेका थिए, ‘ बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन । करोड/करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन ।’ उनले आफूले बचत पाउने आशामा मात्र उजुरी दिएको लेखेका थिए । 

त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको लेखेकी थिइन् । 

बिहीबार फेरि पूजा न्यौपानेले बचत फिर्ता गर्नुपर्ने माग राख्दै रविविरुद्ध मुद्दा चलाउन जाहेरी नदिएको उल्लेख गरेपछि प्रहरीले बचतकर्ताको नाम राखेर मुद्दा दर्ता गरेको विषयमा शंका उत्पन्न भएको हो । 

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । हाल उनको सरुवा भइसकेको छ ।

यता रुपन्देही जिल्लाका प्रहरी अधिकारीहरू भने अदालतमा मुद्दा चलिरहेको विषयमा प्रतिक्रिया दिन नमिल्ने बताउँछन् ।

#सहकारी ठगी प्रकरण

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here