रथले च्यापिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग
२१ माघ, वीरगन्ज । बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा जन्ति जाने क्रममा बेहुला चढेको रथले च्यापिएर मृत्यु भएकाहरुको परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आर्थिक सहयोग गरेको छ ।
लोसपाका मधेश प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनलले मृतक परिवारलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
बतरामा यहि माघ १० गते स्थानीय लक्षु राम महराका छोरा सियाराम महराको बिहेमा जन्ति जाने क्रममा रथले च्यापिएर बतराकै १५ वर्षीय निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका ७ की २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको थियो ।
दुर्घटनामा १४ जना घाइते भएका थिए ।
घाइतेमध्ये १ जनाको काठमाडौंमा र अन्यको वीरगन्जमा उपचार जारी छ । मृ्तकका परिवारलाई बिहीबार घरमै पुगेर लोसपा नेता सोनलले ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
त्यस अवसरमा पूर्वमन्त्री सोनलले मृतकका परिवार र घाइतेलाई आर्थिक सहयोग गरिदिन मधेस प्रदेश सरकारसँग माग पनि गरे ।
उनले दलित परिवार शोक र दु:खमा परेका बेला प्रदेश सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति पनि जनाए । उनले प्रदेश सरकारले मृतकका परिवार र घाइतेलाई सहयोग नगरे प्रदेशसभा बैठक अवरुद्ध पार्ने चेतावनी पनि दिए ।
लोसपाका स्थानीय नेता संजय यादवले दलितवस्तीमा भएको दु:खद घटनाबारे मधेश प्रदेश सरकारलाई जानकारी गराए पनि दलितको पीडा सरकारले नसुनेको दुखेसो पोखे ।
बिहीबार मृतक परिवारलाई आर्थिक सहयोग गर्ने क्रममा आदर्श कोतवाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुस्तफा अन्सारी, वडा अध्यक्ष धर्मेन्द्र यादव , लोसपाका नेता जगत कुशवाहा, अरबिन्द यादव लगायतको पनि उपस्थिति रहेको
प्रतिक्रिया दिनुहोस्