रतुवामाईको बजेट ८३ करोड ७५ लाख, कृषि र शिक्षा प्राथमिकतामा
रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नीति तथा कार्यक्रमपछि प्रस्तुत गरिएको बजेट उपप्रमुख दमयन्त चुडालले नगरसभामा पेश गरिन्।
नगरपालिकाले कृषि, शिक्षा, पूर्वाधार र सामाजिक समावेशीकरणलाई बजेटको प्राथमिकतामा राखेको छ। कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित बजेटमा निःशुल्क कृषि मिटर वितरण कार्यक्रम ल्याइएको छ। यसले किसानलाई सिंचाइमा सहजता ल्याउने र उत्पादन वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
शैक्षिक क्षेत्रलाई पनि बजेटले विशेष प्राथमिकता दिएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्मरूबल्लभ बरालका अनुसार नगरक्षेत्रका विद्यालयहरूमा मातृभाषा–मुख्यतः सतार भाषामा समेत पठनपाठन गराउने कार्यक्रम अघि बढाइनेछ। यसले नगरमा बसोबास गर्ने आदिवासी जनजातिका बालबालिकाको सिकाइमा मद्दत पुग्ने बताइएको छ।
नगरपालिकाले समावेशी र दिगो विकासलाई ध्यानमा राख्दै सडक, खानेपानी, स्वास्थ, सूचना प्रविधि र स्वरोजगारमूलक कार्यक्रमहरूमा समेत बजेट विनियोजन गरेको छ। कमजोर वर्ग, अपाङ्गता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित सामाजिक सुरक्षा कार्यक्रम पनि समावेश गरिएका छन्।
बजेटमार्फत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकता दिइएको नगर प्रमुख नागेशेवर प्रसाद सिंह गन्गाईले बताए । उनले बजेट कार्यान्वयनमा नगरवासीहरूको सक्रिय सहभागिता अपेक्षित रहेको उल्लेख गरे।






प्रतिक्रिया दिनुहोस्