रञ्जितालाई रेशमको सन्देश– तपाईं भाग्न पाउनुहुन्न, आरोपबारे बैठकमा जवाफ दिनुपर्छ

९ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् ।

frontline

एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’

रञ्जिताले ‘मैले बोलाएको बैठक होइन, वैधानिक होइन’ भनेको अनलाइनमार्फत् थाहा पाएको बताउँदै रेशमले भनेका छन्, ‘यसो भनेर अध्यक्ष जी पन्छिन पाउनु हुन्न । ओहो, साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’

रेशमले अहिले उत्पन्न परिस्थितिको जिम्मेवार रञ्जिता नै भएको पनि बताएका छन् । त्यसैले बैठकमा आएर जवाफ दिनुपर्ने रेशमको भनाइ छ । उनले भिडियो सन्देशमा भनेका छन्, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंको कारणले सिर्जना भएपनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास प्रयत्न त गरेकै छौ नि । तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन् । के चाहन्छन् ? हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो । खै त जवाफ ?’

उनी थप भन्छन्, ‘एउटा मुखले मात्र बोलेर हुँदैन नि । केन्द्रीय समितिमा आएर तपाईंले आफ्नो भावना राख्नुभयो भने त भोलि लाख मुखले तपाईंको पक्षमा वा विपक्षमा कुरा गर्ला ।’

उनले पार्टीलाई बन्धक नबनाउन र निकास दिन सुझाएका पनि छन् । ‘निराकरणको बाटो दिनुपर्छ । निकास दिनुपर्छ । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here