योगदान राष्ट्रको लागि अन्तर्राष्ट्रिय समन्वय समिति गठन हुदै
फ्रन्टलाइन, काठमाडौँ । योगदान राष्ट्रका लागि नामक संस्थाको अन्तर्राष्ट्रिय समन्वय समिति गठन हुने भएको छ । देशभर लोकप्रिय र प्रभावकारी सिद्ध भईसकेको यस अभियानलाई संसारभर रहेका नेपाली समुदायमाझ स्थापित गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय समिति गठन गर्न लागिएको हो ।
निःशुल्क प्राथमिक उपचार लाई अभियानकै स्वरुपमा विस्तार गर्दै ४६ वटा जिल्लामा २० हजार जना भन्दा बढीलाई निशुल्क रुपमा प्राथमिक उपचार तालिम दिइसक्नुभएका चितवन जिल्ला स्थायी घर भई हाल युएई मा व्यवसाय संचालन गरिरहनुभएका युवा सामाजिक अभियन्ता ओम उप्रेतीको एकल प्रयासमा शुरु भएको यो अभियानले हाल राष्ट्रिय रुपमा आफुलाई संस्थागत र लोकप्रिय रुपमा स्थापित गरेको छ ।
निशुल्क प्राथमिक उपचार अभियान लाई २०७६ असोज मा योगदान राष्ट्रको लागि नामाकरण गरि राष्ट्रिय अभियान को रुपमा परिणत गरिएको थियो । योगदान राष्ट्रको लागिका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष ओम उप्रेती अन्तर्राष्ट्रिय प्रशिक्षक समेत हुनुहुन्छ । योगदान राष्ट्रका लागिले नेपालका ७७ जिल्लामा कमिटी बनाउने अभियानका साथ हालसम्म ६५ बढि जिल्लाहरुमा समिति गठन भई संस्थागत रुपमा सक्रिय रहेको छ ।
योगदान राष्ट्रको लागि अभियानमा बिभिन्न देशमा प्रवासीका रुपमा रहेका नेपालीहरु लाई जोड्ने संस्थाको उदेश्य अनुरुप अन्तर्राष्ट्रिय समन्वय समिति गठन गर्ने निर्णय गरिएको योगदान राष्ट्रको लागि प्रवक्ता मातृका सुवेदी ले जनकारी दिनुभयो ।
हरेक देशमा योगदान राष्ट्रको लागि कमिटी बनाए एक घर एक प्राथमिक उपचार अभियान सफल हुने योगदान राष्ट्रको लागि सचिव विष्णु भण्डारीले बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा योगदान गर्ने – प्राथमिक उपचार, सरसफाइ, जनचेतना, तालिम तथा सेवा प्रदायक कार्यक्रम आदि, दैविप्रकोपमा सहजीकरण गर्न स्वयमसेवकको भुमिका निर्वाह गर्ने , आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायको तालिम सन्चालन गर्ने , गुणस्तरीय र अतिरिक्त सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरीय एम्बुलेन्स सेवा सन्चालन गर्ने, रास्ट्रलाई आइपर्ने महामारी, भबितब्य, आपतकालीन समस्या सङ्ग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने जस्ता महत्वपुर्ण उदेश्यहरु योगदान राष्ट्रका लागिले राखेको छ र सोही अनुरुप कार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्