युरोपमा पुन: फैलिन थाल्यो कोरोना
१९ कार्तिक, काठमाडौं । युरोपमा कोरोनाभाइरस महामारी पुन: फैलिन थालेको छ । डेल्टा भेरियन्टका कारण संक्रमण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले गम्भीर चेतावनी दिएको छ ।
संक्रमित मानिस बढ्न थालेपछि फेब्रुअरीसम्म ५ लाखले कोभिड-१९ का कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले बताएका हुन् ।
बिहीबार पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप कार्यालयका प्रमुख हान्स क्लुजेले युरोपमा पुन: कोभिड-१९ फैलिन थालेको भन्दै फेब्रुअरीसम्म थप ५ लाख मानिसको मृत्यु हुने बताए । युरोपेली मुलुकमा जारी संक्रमणको गति गम्भीर चिन्ताको विषय भएको पनि उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार एक हप्ताभित्रै कोभिड संक्रमणपछि अस्पताल भर्ना हुने मानिसको संख्या दोब्बरले बढ्न थालेको छ । बढी संक्रामक मानिने डेल्टा भेरियन्टका कारण संक्रमण दर बढ्न थालेको हो ।
डब्लूएचओले बुधबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा लगातार पाँचौं हप्तादेखि युरोपमा कोभिडका बिरामी बढिरहेको उल्लेख छ ।
हाल युरोपको संक्रमण दर विश्वकै खराब रहेको छ । बेलायत, रुस, टर्की र रोमानियामा संक्रमण दर ह्वात्तै बढ्न पुगेको छ । औसतमा १ लाख परीक्षण हुँदा १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइन्छ । जुन दर उत्तर र दक्षिण अमेरिकामा ७२ छ ।
प्रतिक्रिया दिनुहोस्