युरोपमा उच्च तापक्रम, विभिन्न स्थानमा डढेलो, ३०० जनाको मृत्यु
१ साउन, पेरिस (बीबीसी) । युरोपमा केही दिनयता गर्मी बढेको छ। उच्च तापक्रमका कारण विभिन्न स्थानमा डढेलोसमेत फैलिएको छ। आगलागी र गर्मीले हालसम्म कम्तीमा ३ सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
स्पेन, पोर्चुगल, फ्रान्स, बेलायत र इटाली गर्मी र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएका छन्। डढेलोका कारण विस्थापित हुनेमा सबैभन्दा धेरै दक्षिण–पश्चिम फ्रान्सका नागरिक छन्। यहाँ मात्रै हजारौं नागरिक विस्थापित भएको बताइएको छ।
पोर्चुगलको उत्तरी क्षेत्रमा फैलिएको डढेलो निभाउने क्रममा ‘वाटर–बम्बर’ विमान दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बीबीसीका अनुसार दुर्घटनामा कम्तीमा १ सय ३५ जना घाइते भएका छन्।
डढेलो अनियन्त्रित बन्दै गएपछि हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोपछि पोर्चुगलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ। पोर्चुगलमा मंगलबारयताको तापक्रम कम्तीमा ४७ डिग्री सेल्सियस रहेको छ।
स्पेन र फ्रान्सका कतिपय स्थानको तापक्रम ४५ डिग्री पुगेका कारण ग्रामीण क्षेत्रहरूमा फैलिएको डढेलो अनियन्त्रित बन्दै गएको छ। फ्रान्स, ग्रीस, स्पेन र बेलायत डढेलो नियन्त्रणका लागि संघर्ष गरिरहेका छन्। पोर्चुगलको अवस्था पनि उस्तै छ।
यहाँको नागरिक सुरक्षा प्राधिकरणका अनुसार लगभग ८ सय मानिसलाई उनीहरूको घरबाट बाहिर निकालिएको छ। देशभर २८ स्थानमा सक्रिय रहेको डढेलो निभाउन २ हजारभन्दा बढी अग्नि नियन्त्रक खटाइएको छ।
प्रतिक्रिया दिनुहोस्