युक्रेनमा दूरसञ्चार सेवा अवरुद्ध, बैंक र सरकारी वेबसाइटमाथि साइबर आक्रमण
१४ फागुन, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनका धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनका दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायकले विभिन्न ठाउँमा समस्या भोगिरहेका छन् ।
इन्टरनेट सेवा प्रदायक ट्रिओलानले राजधानी सहर किभका केही भागसहित धेरै क्षेत्रमा समस्या भोगेको छ ।
‘कम्पनीका कर्मचारीहरूले यो कठिन समयमा नेटवर्कको सामान्य कार्यलाई कायम राख्न सक्दो प्रयास गरिरहेका छन्,’ कम्पनीले टेलिग्राम पोस्टमा भनेको छ ।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा सञ्चालित इन्टरनेट आउटेज मनिटरिङ ड्यासबोर्डले पनि युक्रेनका धेरै भागमा आंशिक आउटेज देखाएको छ ।
त्यस्तै इन्टरनेट विश्लेषकहरुले पनि युक्रेनको इन्टरनेट गम्भीर अवस्थामा पुगेको चेतावनी दिइरहेका छन् ।
यता भ्वाइस कलमा अवरोध हुँदा मानिसहरूले टेक्स्ट म्यासेज प्रयोग गर्नपर्ने अवस्था छ ।
युक्रेनी सरकारले बिहीबारमात्रै दूरसञ्चार अपरेटरहरूले आफ्नो नेटवर्कमा भारी कम्युनिकेसन लोडसँग संघर्ष गरिरहेको बताएको थियो ।
युक्रेनी साइबर सुरक्षा अधिकारीका अनुसार गत हप्तादेखि नै युक्रेनका सरकारी वेबसाइट, बैंक र डिजिटल सेवालाई निशाना बनाउँदै साइबर आक्रमण (डिनायल-अफ-सर्भिस अट्याक) भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्