यस्तो पाराले दुई वर्षमा छाङरुसम्म कसरी पुग्छ सडक ?

दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकअन्तर्गत छाङरुसम्म सडक खण्डको दुई वर्षभित्र ट्रयाक खोल्नेगरी बजेट माग गरेका छन् । जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै बडूले नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडकलाई उच्च महत्व र प्राथमिकता दिनसमेत माग गरे । 

जेठ १५ गते नयाँ बजेट आइरहेको पृष्ठभूमिमा पूर्वमन्त्रीसमेत रहेका बडूले यस्तो आग्रह गरेका हुन् । यो वर्ष र गतवर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री सहितको टोलीले टिंकर सडकको अनुगमन पनि गरेको छ । 

frontline

गत वर्ष र चालु वर्षको बजेटमा टिंकर सडकका लागि सेनाले मागेजति बजेट परेन । गतवर्ष १४ करोड र यो वर्ष ९ करोड रूपैयाँ मात्रै टिंकर सडकमा विनियोजन भयो ।

चालु आर्थिक वर्ष सडक निर्माणको वार्षिक लक्ष्य गत चैत्रमै पूरा भएको छ । सेनाले यो वर्ष १८ सय मिटर सडक निर्माण र १२ सय मिटर सडक स्तरोन्नतिको लक्ष्य राखेको थियो । थपिएको पाँच करोड बजेटबाट छाङरुबाट बुँदीतर्फको क्षेत्रमा २ किलोमिटर थप सडक निर्माण गरिँदै छ । 

व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जु र तम्बाकु क्षेत्रमा पनि सडक निर्माण जारी छ । थपिएको पाँच करोड बजेटबाटै वडा नम्बर २ को कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण जारी राखिएको सैनिक स्रोतले बतायो । कल्जुक्षेत्रमा दुई–तीन सय लामो चट्टान फुटाएर सडकको ट्रयाक जोड्ने तयारी छ । यो वर्षभित्र कल्जुक्षेत्रको सडक खण्ड जोडिसक्ने लक्ष्य राखिएको छ । 

सेनाले व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि सडक निर्माण शुरु गरेको छ । टिंकर सडकको जिरो किलोमिटर तुषारपानीदेखि वडा नम्बर २ को मालगाउँभन्दा केही अगाडि करिब ५ किलोमिटर लामो सडकमा गाडी गुडेको छ । मालदेखि दुम्लिङहुँदै आकतुङतीसम्मको सडकको ट्रयाक निर्माण गरिएको छ तर केही स्थानमा ग्रेडिङ मिलाउन बाँकी रहेकोले ट्याक्टर गुडाउन सक्ने अवस्था छैन । 

दार्चुला–टिंकर सडकको डिपिआरअनुसार तुषारपानीदेखि छाङरुसम्मको सडकको दूरी ४२ किलोमिटर छ । हाल तुषारपानीदेखि दुम्लिङ–आकतुङती हुँदै तम्बाकुसम्मको १७ किलोमिटर लामो खण्डमा सडक निर्माण भइरहेको छ । घाटिबगर, बुँदी, कुन्तिसाउ हुँदै छाङरुसम्मको बाँकी २५ किलोमिटर सडक निर्माण बाँकी छ । 

भिरालो ठाउँ, कडा चट्टान र महाकाली नदीको किनारमा सडक निर्माण गर्नुपर्ने भएकोले जोखिमपूर्ण छ । कठिन र जोखिमपूर्ण भूगोल भएकाले यसक्षेत्रको सडक निर्माणमा बढी समय लागिरहेको बताइन्छ । 

टिंकर सडक दु्रतगतिमा निर्माण गर्न वार्षिक ५० करोड बजेट उपलब्ध हुनुपर्ने माग गरिएको छ । नयाँ बजेटको पूर्वाद्र्धमा पूर्वमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले प्रधानमन्त्रीसंग टिंकर सडकमा ५० करोड बजेट विनियोजन गर्न माग गरेका छन् । 

नेपाली सेनाले पनि आगामी वर्षका लागि ५० करोड रूपैयाँ बजेट माग गरेको बताइन्छ । तर, राजनीतिक क्षेत्र र सेनाले मागेजति बजेट विनियोजन हुनेमा धेरैलाई शंका छ । हालसम्मको बजेट विनियोजनको शैली र सरकारको प्राथमिकतालाई हेर्दा नयाँ बजेटमा टिंकर सडकमा ५० करोड बजेट आउनेमा कोही पनि ढुक्क छैनन् । पर्याप्त बजेट विनियोजन नभएको अवस्थामा दुई वर्षभित्र छाङरुसम्मको सडकको ट्रयाक खोलिसक्ने लक्ष्य पनि पूरा नहुने निश्चित छ । 

चुच्चे नक्साको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेटमा २५–३० करोड रूपैयाँ विनियोजन गरिदिँदा पनि ठूलो उपलब्धि हुने एकथरी सीमाक्षेत्रका नागरिकको भनाइ छ । ‘हामीले धेरै ठूलो आश राखेका छैनाैं, ५० करोड बजेट आउनेमा विश्वास छैन । २५ देखि ३० करोडसम्म बजेट आउँदा पनि त्यो महत्वपूर्ण हुनेछ । प्रधानमन्त्री ओली धन्यवादका पात्र हुनेछन्’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोक सिंह बोहराको भनाइ छ । 

छाङरुदेखि बुँदीसम्मको भूगोल सडक निर्माणका लागि तुलनात्मक रूपमा सजिलो छ । बुँदीदेखि पोला, बयलीधार र घाटिबगरसम्मको क्षेत्रमा पनि केही स्थानमा मात्रै कडा चट्टान छ । तर, घाटिबगरदेखि थिइभीर, तम्बाकु हुँदै कल्जुसम्मको क्षेत्रमा कडा चट्टान र भिरालो ठाउँ भएकाले सडक निर्माणमा बढी समय लाग्ने अवस्था रहेको वडाध्यक्ष बोहरा बताउँछन् । 

तुषारपानीदेखि छाङरुसम्मको निर्माण हुन बाँकी २५ किलोमिटर सडकको ट्रयाक खोल्न पर्याप्त बजेट विनियोजन हुनु जरुरी रहेको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी बताउँछन् । ‘बजेटका साथै जनशक्ति र स्रोत–साधन बढाएर द्रुतगतिमा निर्माण गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here