यति धेरै मृत्यु हुनुको मुख्य कारण राज्यको कमजोर तयारी र ब्यबस्थापन
‘पहिलो लहर सकिँदा अर्को ठूलो लहर आउँछ भन्ने सबैलाई थाहा थियो, त्यो बेला अस्पतालमा बेड र अक्सिजन बढाएको भए बचाउन सकिने धेरै बिरामीलाई गुमाउनुपर्ने थिएन
शनिबार, काठमाडौं । पहिलो लहरमा देखिएको कोरोना संक्रमणको तथ्यांक र त्यसको क्षतिले गर्दा कोरोना केही होइन रहेछ भन्ने मनोविज्ञान सर्वसाधारण, चिकित्सक तथा सरकारी पदाधिकारीमा विकास भइसकेको थियो ।
त्यतिबेलाको परिस्थितिले नै कोरोना केही होइन र हाम्रो इम्युनिटी बलियो छ भन्ने जस्ता अवैज्ञानिक तर्कलाई सपोर्ट गरेको थियो ।
वैज्ञानिक आधारमा बोल्ने विज्ञहरुको बोली सुनिए पनि पत्याइन्नथ्यो । यो शायद गत पुस-माघतिरको कुरा हुनुपर्छ । त्यतिबेला संक्रमितहरु भेटिए पनि मृत्युदर ०.६ प्रतिशतको हाराहारीमा थियो ।
संक्रमण भए पनि धेरैलाई गम्भीर असर नगरेकाले यो भाइरसले केही नगर्ने रहेछ भन्ने मनोविज्ञान निर्माण भयो र लापरवाही हुन थाल्यो ।
सरकारकै यस्तो किसिमको मनोविज्ञानका कारण दोस्रो लहरको लागि कुनै तयारी गरिएको थिएन । सभा सम्मेलन तथा आन्दोलनजस्ता गतिविधि भइरहे भने राजनीतिको नाममा मानिसहरु सडकमा आउँदा भाइरस घरघरमा फैलिन मद्दत पुग्यो ।
फलस्वरुप दोस्रो लहरको संक्रमण समुदायमा नराम्ररी फैलिइसकेको हामीले अनुमान गर्न सकेनौं । दोस्रो लहर समुदायमा फैलिइसकेपछि गरेको लकडाउन संक्रमण रोक्न असफल भयो र अस्पतालमा अकस्मात् केसहरु बढ्दा सबै जना अत्तालिइसकेका थिए ।
अत्यन्तै सिकिस्त बिरामी आउने क्रम बढेपछि अस्पताल भरिन एक साता पनि लागेन ।
अस्पतालमा बेड र अक्सिजनको अभाव भएपछि संक्रमितहरुलाई प्रांगणमा राखेर उपचार गर्नुपर्ने बाध्यता आयो ।
जब पहिलो लहरमा भन्दा धेरै नै बिरामीहरु अस्पतालमा हताहत भए तब मात्र हामीले हाम्रो कमजोरी थाहा पायौ । सभा र सम्मेलनमा सडकमा निस्क्नुको मूल्य चुकायौं ।
दोस्रो लहरमा मृत्युदर १.६ प्रतिशत देखियो । जुन भारतको भन्दा बढी थियो । तथ्यांकमा नअटाएका मृत्युलाई गणना गर्दा करीब २ प्रतिशत मृत्युदर पुग्यो होला ।
यति धेरै मृत्यु हुनुको मुख्य कारण राज्यको कमजोर तयारी र व्यवस्थपन नै हो । पहिलो लहर सकिँदा अर्को ठूलो लहर आउँछ भन्ने सबैलाई थाहा थियो, त्यो बेला अस्पतालमा बेड र अक्सिजन बढाएको भए बचाउन सकिने धेरै बिरामीलाई गुमाउनुपर्ने थिएन ।
पहिलो लहरको भन्दा कडा किसिमको भेरियण्ट (डेल्टा) को भाइरस फैलिएकाले सबैले सोचे विपरीत भइरहेको थियो । संक्रमणको फैलावट र सिकिस्त पार्ने क्षमता अत्यन्त शक्तिशाली थियो ।
बिरामीहरुको अस्पतालमा आउने क्रम र उनीहरुको अवस्था देख्दा हामी चिकित्सक नै अत्तालिन थालिसकेका थियौं ।
पहिलेदेखि नै तयारी र व्यवस्थापन राम्रो गरेको भए यति धेरै मानिसले ज्यान गुमाउनुपर्ने नै थिएन । किनकि, हाम्रोमा धेरै संक्रमितको मृत्यु हुनुको मुख्य कारण अस्पतालमा बेड र अक्सिजनको अभाव हुनु नै हो ।
अक्सिजन र बेडको यति धेरै हाहाकार भयो कि कसैले व्यवस्थापन गर्न सकेन । संस्थागत आइसोलेसन नहुँदा होम आइसोलेसनमा पनि धेरै संक्रमितहरुले ज्यान गुमाए, किनकि घरमा सामान्य उपचार गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सम्भव थिएन ।
धेरैजसो संक्रमित ढिलो अस्पताल आएका हुन्थे । उनीहरु अस्पताल आउँदा फोक्सो कोल्याप्स भइसकेको हुन्थ्यो । अक्सिजन धेरै दिँदा पनि बचाउन सकिने थिएन ।
कतिपय संक्रमितहरु त सिकिस्त भएपछि आएका हुन्थे, तर उनीहरुको कोरोना परीक्षण नै गरिएको हुन्थेन । परीक्षणमा लापरवाही हुँदा पनि बचाउन सकिने धेरै बिरामीलाई बचाउन नसकिएको सत्य हो ।
कोरोना संक्रमण उत्कर्षमा पुग्दा एक लाखभन्दा बढी संक्रमित होम आइसोलेसनमा थिए । होम आइसोलेसनमा बसेकाहरु एकाएक सिकिस्त हुँदा अस्पतालमा बेड र अक्सिजनको उस्तै हाहाकार थियो ।
अस्पतालमा बेड नपाइने भएकाले धेरैले त परीक्षण नै नगरी बसेका थिए । परीक्षण नै नगरेकाले उनीहरुबाट सरेर संक्रमण झन् फैलिएको थियो ।
वास्तवमा सरकार कोरोना संक्रमण नियन्त्रणका लागि उपचार सेवामा मात्र भर भरेको देखियो ।
उपचार सेवामा मात्र भर नपरी शुरुदेखि नै राज्यले परीक्षण र आइसोलेसनमा ध्यान दिएको भए ठूलो क्षति हुनुअघि नै हामीले महामारीको आँकलन गरेर नियन्त्रण गर्न सक्थ्यौं । र, धेरैभन्दा धेरै बचाउन सकिने संक्रमितलाई गुमाउनुपर्ने थिएन ।
प्रतिक्रिया दिनुहोस्