यताका चेलीहरु सजिलै उताका ‘आर्केस्ट्रा डान्स क्लब’ मा

भारतको बिहारस्थित मोतीहारीमा जबरजस्ती बन्धनमा पारेर आर्केस्ट्रा डान्समा लगाइएका १८/१९ वर्षका दुई किशोरीको माइती नेपालले उद्धार गरेको छ । घरबाट छोरी हराएपछि एकजना अभिभावकले खोजीका लागि माइती नेपालमा निवेदन दिएका थिए । खोज्दै जाँदा उनीहरु भारतको मोतिहारीस्थित एउटा आर्केस्ट्रा डान्स क्लबमा भेटिएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जानकारी दिए ।
‘चितवन, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लाबाट किशोरीहरुलाई विभिन्न प्रलोभन र झुक्क्यानमा पारी भारतका विभिन्न ठाउँमा लगेर अश्लील नृत्यमा लगाउने (अर्धनग्न अवस्थामा नचाउने) गरेको पाइन्छ,’ उनले भने । यहाँबाट कलाकार बनाउने, धेरै पैसा कमाउने भनेर लगिएका नेपाली चेलीहरुलाई त्यहाँ लगेर अनेक सास्ती दिँदै जबरजस्ती रुपमा नंग्याउने, नचाउने गरिँदै आएको अवस्था छ ।




‘राति आठ बजेदेखि बिहान ३/४ बजेसम्म नाच्नुपथ्र्याे । हामी घर जान्छु भन्दा नि जान नदिनी, चुकुल लाएर राख्नी गथ्र्याे’ उद्धार गरेर ल्याइएकी एक किशोरीले भनिन्, ‘पब्लिकको अगाडि पनि पिट्थ्यो कहिलेकाहीँ त । हामीलाई पिट्न लठ्ठी नै लिएर बसेको हुन्थ्यो ।’ एउटा प्रोग्रामको २५ सय भारतीय रुपैयाँ दिने भनेर नचाएको पैसासमेत नदिएको उनले बताइन् । माइती नेपालका अधिकारकर्मी भन्छन्, ‘इच्छाविपरीत काममा लगाउनु नै मानव बेचबिखन हो ।’
यहाँबाट भर्खरका किशोरीहरुलाई फकाइफुल्याई सजिलैसँग भारत पुर्याउन केही नेपाली युवतीहरुलाई नै प्रयोग गरिँदै आएको पाइन्छ । ती १८ वर्षीया किशोरी पनि एकजना नेपाली युवतीमार्फत् नै भारत पुगेकी थिइन् । वीरगञ्जमा स्टेज प्रोग्रामको लागि जाने भनेर आफूलाई झुक्याएर भारत लगेको उनले बताइन् ।
थोरै प्रहरी भएको सीमा चेकपोष्ट नजिकैबाट ‘फूपूको बिबहमा जान लागेको’ भनी पारि पुर्याएको उनले जनाइन् । नेपाली चेलीहरुलाई अहिले पनि विभिन्न बहानामा भारतको बम्बई, कलकत्ता, पटनातिर कोठीहरुमा लगेर जबरजस्ती देहव्यापारमा लगाउने कार्यसमेत भइरहेको जानकार बताउँछन् ।
डिभोर्सी आमाबाबुका बालबालिकाहरु यसप्रकार बढीमात्रामा हिंसा, दुव्र्यवहार र बेचबिखनको शिकार हुँदै आएका छन् । यी किशोरी पनि आमाबाबु अलगअलग भएको अलपत्र अवस्थामा हुर्किएकी हुन् । आमाबाबु साथमा हुँदाहुँदै राम्रो अभिभावकत्व नपाउने बालबालिकाहरुको जीवन पनि बढी जोखिममा रहने र बर्बादीतर्फ धकेलिने गरेको छ । नेपाली समाजमा पछिल्लो समय असल अभिभावकत्वको कक्षा अत्यावश्यक देखिएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्