म्यान्मारमा चारजना लोकतन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड
९ साउन, एजेन्सी । म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ ।
आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले जनाएको छ ।
त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवले पनि मृत्युदण्ड पाएका छन् ।
उनीहरुलाई गत जनवरी र अप्रिल महिनामा गोप्य सुनुवाईका क्रममा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनीहरुले मुलुकको सरकार चलाइरहेको सेना विरुद्ध लड्न विद्रोही लडाकुहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।
मृत्युदण्ड दिइनुअघि उनीहरुलाई विश्वमै कुख्यात मानिने उपनिवेशकालीन इन्सेइन कारागारमा राखिएको जनाइएको छ ।
मुलुकको राष्ट्रिय सञ्चारमाध्यमले सोमबार मृत्युदण्डबारे समाचार प्रसारण गरेको थियो । पछि सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले मृत्युदण्ड दिएको घटना पुष्टि गरेका थिए । यद्यपि उनीहरुलाई कुन समयमा मृत्युदण्ड दिइएको हो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ ।
म्यान्मारमा पछिल्लो केही दशकमा पहिलो पटक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि त्यहाँ फासीमा झुण्ड्याएर मृत्युदण्ड दिइने गरिन्थ्यो ।
यद्यपि पछिल्लो पटक ती लोकतन्त्रवादी अभियानकर्मीहरुलाई कुन समयमा र कसरी मृत्युदण्ड दिइएको हो भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।
मृत्युदण्ड दिइएको समाचार सार्वजनिक हुनासाथ उनीहरुका आफन्तहरु इन्सेइन कारागारअघि भेला भएका थिए । मृत्युदण्ड पाएका आफ्ना छोरासँग आफूले गत शुक्रबारमात्रै जुममार्फत् कुराकानी गरेको जेया थवकी आमाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
म्यान्मारमा मृत्युदण्ड दिइएको घटनालाई लिएर विश्वभर एवम् म्यान्मारभित्रै चर्को आलोचना भएको छ । म्यान्मारको छायाँ सरकारको भूमिका निभाइरहेको विपक्षी समर्थित राष्ट्रिय एकता सरकारले मृत्युदण्डको चर्को विरोध गरेको छ ।
मृत्युदण्डबाट स्तब्ध एवम् दुखी भएको एकता सरकारको भनाइ छ । त्यस्तै, म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि टम एण्ड्रुजले पनि मृत्युदण्डको निन्दा गरेको बीबीसीले उल्लेख गरेको छ ।
म्यान्मारमा गत वर्षको फेब्रुअरी महिनामा कु गरी सेनाले सत्ता हत्याएको हो ।
प्रतिक्रिया दिनुहोस्