म्यानमारमा ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५’ हुने

नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन २१–२२ मार्चमा यांगुनमा एक्स्पो गर्न लागिएको हो ।

७ चैत, काठमाडौं । म्यानमार यांगुनमा शुक्रबारदेखि ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ हुने भएको छ ।

frontline

म्यानमारस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन २१–२२ मार्चमा यांगुनमा एक्स्पो गर्न लागिएको हो ।

एक्स्पोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरबारे छलफल हुने पर्यटन बोर्डले जनाएको छ । विश्‍वमा शान्तिको प्रतीकका रूपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्स्पोको मुख्य उद्देश्य छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्ने अपेक्षा छ ।

पर्यटन बोर्डसहित पर्यटन क्षेत्रमा काम गरिरहेका पाँच कम्पनी, आईटी सफ्टवेयर तथा कृषिजस्ता व्यापारिक क्षेत्रका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । यस एक्स्पोले दुवै देशबीच कृषि उत्पादन, विशेषगरी चामल र दालको व्यापार बढावा दिने छ ।

एक्स्पोमा आईटी सफ्टवेयर समाधान र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानी गर्न कार्यक्रममा सहभागी व्यवसायीलाई आह्वान गरिने भएको छ ।

नेपालको तर्फबाट आईटी सफ्टवेयर सोलुसन समेत प्रदर्शनीमा राखिने बताइएको छ । जसले दुवै देशबीच प्रविधि सहयोग र ज्ञान आदान–प्रदानका नयाँ अवसर सिर्जना गर्ने छ ।

एक्स्पोमा पर्यटन क्षेत्रतर्फ दुवै देशका प्रतिनिधिबीच बिटुबी सत्र, पर्यटन बोर्डको प्रस्तुतीकरण र व्यापार वृद्धि, नवीनता र सांस्कृतिक आदान–प्रदानमा आधारित छलफल हुने बोर्डले जनाएको छ ।

यसले व्यापार र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीलाई नेटवर्किङ, ज्ञान आदान–प्रदान र सहकार्यका नयाँ अवसर खोजी गर्न सहयोग पुर्‍याउने छ ।

नेपालबाट होटल मनास्लु प्रालि, होटल रत्‍नसम्वय (लुम्बिनी), हिमालयन ३६०, जुगल होलिडेज प्रालि, बौद्ध सर्किट डटकम प्रालि, नमस्ते पर्यटन र होलिडेज प्रालिजस्ता कम्पनीले आफ्नो सेवा प्रस्तुत गर्ने बोर्डले जनाएको छ ।

यी कम्पनीको उद्देश्य म्यान्मारका पर्यटकलाई नेपालका प्रमुख बौद्ध तीर्थस्थलमा आकर्षित गर्ने, साथै पर्यटन र व्यापारका अवसरलाई नयाँ उचाइमा पुर्‍याउने रहेको छ ।

एक्स्पोले नेपालमा म्यानमारका पर्यटक आगमन बढाउन मद्दत गर्ने बोर्डले जनाएको छ ।

पर्यटन एक्स्पो  #म्यानमार

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here