म्यानमारको कारागारमा झडप, एक कैदीको मृत्यु, ६० बढी घाइते
२३ पुस, याङ्गुन । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ ।
पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पुर्याएका थिए । कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् ।
“भीडलाई तितरबितर पार्न र दङ्गा नियन्त्रणमा लिन अधिकारीहरूले गोली चलाउनु परेको थियो,” विज्ञप्तिमा भनिएको छ ।
युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उनलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ । जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।
गत साता बेलायतबाट म्यानमार स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
सेनाले सत्ता कब्जा गरेयता दुई हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने असहमतिमाथि दमन गर्ने क्रममा १३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको स्थानीय मानव अनुगमन समूहले जनाएको छ ।
गत वर्षको जुलाईमा सरकारले पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी कार्यकर्ता क्याव मिन युसहित चार जना कैदीलाई मृत्युदण्ड दिएको थियो ।
करिब ३० वर्षमा म्यान्मा राज्यद्वारा मृत्युदण्डको यो पहिलो प्रयोग थियो र यसको विश्वव्यापी निन्दा भएको थियो । ह्युमन राइट्स वाचका अनुसार म्यान्मारका जेलहरू कठोर परिस्थिति र यातनाको कथित प्रयोगका लागि कुख्यात छन् ।
प्रतिक्रिया दिनुहोस्