मोरङ हत्याका मुख्य अभियुक्त पक्राउ
१९ मंसिर, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा भएको विभत्स हत्याको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ।
हत्याका मुख्य अभियुक्त बूढीगंगा–६ डल्लेपुलका २६ वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
उनका अनुसार पुरानो रिसइबीका कारण खुकुरी प्रहार गरेर धनकुटाको पाख्रीबास नगरपालिका–४ का २६ वर्षीय रिजन दाहालको गत कात्तिक २८ गते राति बूढीगंगा–७ मा हत्या गरिएको थियो। घटनापछि मुख्य अभियुक्त तामाङ फरार थिए।
उनलाई डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार घटनामा संलग्न ५ जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ।
हत्यामा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय राजु तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २१ वर्षीय विक्रम खड्का, बूढीगंगा–६ का २४ वर्षीय ईश्वर लिम्बू, १८ वर्षीय सुदीप उराउ र अर्का पनि २० वर्षीय सुदीप उराउसमेतको संलग्नता रहेको श्रेष्ठको भनाइ छ।
साथीकी भतिजीको ‘बर्थ–डे’ (जन्मदिन)को अवसरमा आयोजित पार्टीमा सहभागी हुन आएका बेला दाहालको हत्या भएको थियो।
पुरानो रिसइबीका कारण उत्पन्न विवादपछिको झगडा छुट्याउन गएका दाहालका साथीहरु नानु लिम्बू र धनकुटाकै कमल थापा पनि घटनामा घाइते भएका थिए।
हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुवै जनाले खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्