मोटरसाइकल चोरी गरी बिक्री गरेको आरोपमा ६ जना पक्राउ
२६ फागुन, काठमाडौं । झापाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले चोरीमा संलग्न भद्रपुर ७ का २१ वर्षीय प्रकाश सहनी र सोही स्थानका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजवंशीलाई मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
त्यस्तै चोरिएको मोटरसाइकल बिक्रीमा संलग्न रहेका भद्रपुर १ का ३० वर्षीय बिर्ख लिम्बू र भारत किसनगंज घर भइ हाल भद्रपुर ६ मा बस्दै आएका समीप ग्यारेज संचालन गर्ने १९ वर्षीय मोहम्मद समिपलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए।
समिपले चोरी गरेका मोटरसाइकलको नम्बर प्लेट तथा पार्टपुर्जा परिवर्तन गरि बिक्री गर्ने गरेका थिए। उनीहरुलाई फागुन २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय झापामा मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले सुक्ष्म निगरानी गर्ने क्रम बढाएको छ।
प्रहरीले चोरी गरिएको ५ थान पल्सर, १ थान अपाची र १ थान स्प्लेण्डर मोटरसाइकल समेत बरामद गरेको छ। चोरी गरी बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस्