मुख्यमन्त्री शाहले मन्त्रीलाई भने- मसँग काम गर्न असहज भए राजीनामा दिनू

मुख्यमन्त्री शाहले भने. ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला । मसँग कुनै मन्त्री र राज्यमन्त्री ज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ ।’
६ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्ने मन्त्रीलाई राजीनाम दिन सुझाव दिएका छन् ।




आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिएर जान सुझाव दिएका हुन् ।
‘बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नुपर्छ । जनताका कामहरू सहज रुपमा हुन्छन् । त्यसका लागि जेल जानुपर्छ भने पनि म तयार छु’, शाहले भने, ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला । मसँग कुनै मन्त्री र राज्यमन्त्री ज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ । कर्मचारीहरुलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन ।’
कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर अगामी वर्षको बजेट कसरी बनाउने भन्ने विषयमा छलफल गर्ने बताए । ‘बजेटमा माननीयहरूको भूमिका कहाँ हुन्छ ? कसरी बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ । प्रष्ट खाका लिएर आउनुहोला सचिव ज्यूहरुलाई निर्देशन गर्दछु’, शाहले भने ।
कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने गरिएको बताउँदै उनले सही ढंगले काम गरे अहिलेकै कर्मचारीले धेरै काम गर्न सक्नेमा विश्वस्त रहेको बताए ।
चालु वर्षका आयोजनाहरु पनि के कसरी अगाडि बढ्दैछन तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन शाहले निर्देशनसमेत दिएका छन् ।
गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैंले गरको उनको भनाइ थियो ।
अर्ध वार्षिक समीक्षा कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्