मुख्यमन्त्रीसङ्ग भेट्दा मोबाइल बन्द

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो कार्यकक्षमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएपछि आलोचना शुरु भएको छ । आफूलाई भेट्न आउने जो कोहीले पनि मोबाइल फोन कार्यकक्षभन्दा बाहिरै राख्नुपर्ने निर्णय गरिएको छ । 

मुख्यमन्त्री कार्कीको सचिवालयले कतिपय छलफलका विषय संवेदनशील हुने र गोपनीयता कायम राख्नुपर्ने कारण देखाउँदै भेटमा मोबाइल निषेध गरिएको दावी गरेका छन् । 

frontline

नेकपा (एमाले)को कोटाबाट मुख्यमन्त्री बनेका कार्कीले सरकारी कार्यकक्षमा मोबाइल नै निषेध गरेर आखिर त्यस्तो के छलफल गर्छन् होला ? नागरिकस्तरबाट प्रश्न उठेको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मोबाइल फोन निषेध गर्ने निर्णय तत्काल सच्याउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले भेटघाटमा पनि मोबाइल प्रयोगमा रोक लगाउँदा लोकतन्त्रको चीरहण हुने उनको बुझाई छ । ‘प्रधानमन्त्री र राष्ट्रपतिलाई कार्यालयमै भेट्दा मजाले फोन प्रयोग गर्न पाइन्छ, तर मुख्यमन्त्रीले चाहिँ  किन त्यस्तो निर्णय गर्नुभयाे, म छक्क परेको  छु’, उनले जनआस्थासँग भने, ‘प्रदेश सरकार त झन् जनतासँग नजिक भएको सरकार हो, मुख्यमन्त्रीज्यूले उक्त निर्णय कार्यान्वयन गरिसक्नुभएको हो भने गलत भयो, तत्काल सच्चाउनुपर्छ ।’ 

सांसद आङ्बोले मुख्यमन्त्री कार्कीलाई लोकतन्त्रमा पारदर्शीताले ठूलो अर्थ राख्नेबारे पनि सचेत गराएका छन् । ‘भेट्न जाँदा मोबाइल नै लग्न नपाइने भन्ने पनि कहीं हुन्छ ? त्यो हो भने कि निरकुंश प्रवृति हो, कि निर्णय सच्याउन माग गर्छु ।’ 

एमालेका अर्का प्रदेश सभा सदस्य छविला चुडालले भने मुख्यमन्त्रीसँग भेट नभएको कारण मोबाइल निषेधको अनुभव गर्न नपाएको बताए । तर, भेटमा मोबाइलको प्रतिबन्ध लगाइएको हो भने त्यो गलत रहेको उनको भनाई छ । ‘अहिले म गाउँ आएको छु, त्यसैले यसबारे मैले जानकारी पाएको छैन, भोगेको छैन’, उनले भने, ‘तर साँच्चीकै मुख्यमन्त्रीज्यूले यो निर्णय गर्नुभएको हो भने राम्रो होइन, गलत सन्देश जान्छ ।’ 

उता प्रदेशवासीले पनि मुख्यमन्त्री कार्कीको आलोचना गरिरहेको देखिन्छ । सुनसरीको इनरुवा घर भएका एक शिक्षकले भनेका छन्, ‘मुख्यमन्त्रीज्यूले भेट हुँदा मोबाइल ल्याउन नपाइने भन्नुभयो, त्यो गर्न उहाँले पाउनुहुन्छ पनि, तर किन निषेध गर्नुभयो ? गम्भीर विषय होइन र ? ढोकाभित्र के के काम हुन्छ, त्यो उहाँकै निर्णयले स्पष्ट पारिदियो ।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here