मिडियामा करोडौं लगानी तर उद्योग हैन !

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र संचालित संचारमाध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न माग गरेको हो ।

आगामी आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षण

frontline

महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र सयौं संचारमाध्यम दीर्घकाल संचालनका लागि प्रदेशले उद्योगमा समेट्नुपर्ने माग राखे ।

उनले मन्त्रीद्वय समक्ष प्रदेशका सबै किसिमका संचारमाध्यमलाई उद्योगका रुपमा समेटेर प्रदेश सरकारले विभिन्न किसिमबाट तत्काल सहयोग उपलब्ध गराउनुपर्ने बताए ।

अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं मिडियामा करोडौं लगानी भएपनि उद्योगको रुपमा नसमेट्दा दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराए । संचारमाध्यमलाई उद्योगका रुपमा समेट्ने मात्र नभइ आवश्यक सामाग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ ।

महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको छ ।

कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग

प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले संचारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताए । उनले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफु तयार रहेको धारणा राखे ।

उनले संचारमाध्मयलाई उद्योगका रुपमा विकास गर्नसके संचारकर्मीको दीर्घकालीन विकासमा टेवा पुग्ने हुनाले त्यसतर्फ सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्दै यसबारे नीतिगत निर्णय गर्न आफु तयार रहेको बताए ।

यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ ।

महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्ताव पत्र पेश गर्दै मन्त्रालयले तत्काल पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।

महासंघले स्नातक र स्नात्तकोत्तर अध्ययन गर्न चाहने पत्रकारका लागि अगामी आर्थिक वर्षबाट छात्रबृत्ति व्यवस्था गर्नसमेत माग गरेको छ । मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नो तर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्रालयहरुमा पुगेको महासंघको डेलिगेशनमा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here