मालढुङ्गा पुलबाट दसैँअघि नै गाडी चल्ने
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ।
चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुंगा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ।
एक सय १४ मिटर लामो पुलको पहुँच मार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन। सुरुमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ।
यसबाट मध्य पहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ। सडक डिभिजन कार्यालय पोखराले पुल मर्मत कार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ।
बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको अवस्था अवलोकन गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन र आयात निर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने हाललाई भने बागलुङ पुग्ने वैकल्पिक मार्गका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिनुपर्ने बताए।






प्रतिक्रिया दिनुहोस्