मानापाथी हिमालमा भीषण हिउँ पहिरो, १५ चौरी मरे, १० बेपत्ता

२१ फागुन, जोमसोम ।  मुस्ताङको थासाङ गाउँपालिका—२ मानापाथी हिमालको फेंदमा शनिबार बिहान करिव ४ बजे भीषण हिउँ पहिरो गएको छ। हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदनजिक खर्कको गोठमा रहेका १५ वटा चौरी मरेको जनाइएको छ।

थासाङ—२ नाउँरिकोटकी स्थानीय शुशिला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेको थासाङ—२ बोक्सी खोलाका सुजन गौचनले पुष्टि गरे। 

frontline

उनका अनुसार कुल ३९ वटा चौरीमध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पर्न नसकेको गौचनले जानकारी दिए।

हिउँपहिरोको घटनापछि अहिले त्यसक्षेत्रका स्थानीयबासी र प्रहरीको टोलीले चौरी खोज्ने र घटनाको विवरण संकलन गर्ने काम गरेको उनले बताए।

थासाङ—२ को गुरुसाङ्वो गुफामाथिको चिप्लुङ लेंकमा नाउरिकोटकी शुशिला गौचन र नरप्रसाद गौचनको चौरी गोठ थियो। गोठमा चौरी हेर्ने गोठाला त्यहा नभएको अवस्थामा हिउँपहिरो गएको चौरी धनी शुशिला गौचनले बताइन्।

हिउपहिरोले चौरी गोठ पुरै पुरिएको र आफ्नो चौरी गोठमा लाखौंका क्षति पुगेको उनले बताइन्। स्थानीय बासिन्दा घरमा सुतिरहेको अवस्थामा हिउँपहिरो गएकाले जनमानसमा त्रास नभएको उनले खुलाइन्।

यसअघि गत कार्तिकको तेश्रो साता उक्तक्षेत्रमा भीषण हिउँपहिरो गएको थियो। त्यसबेला बिहान करिव ११ बजे हिउँपहिरो गएपछि स्थानीयबासीमा भागदौड मच्चिएको थियो।

थासाङ—२ कोवाङ स्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, र विद्यार्थी भागदौड हुँदा ९ जना घाइते भएका थिए।

त्यसक्षेत्रमा दशकौंदेखि पटक-पटक हिउँपहिरो जाने गरेको थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए। उनले हिउँदयामको चिसो मौसममा पनि हिउँपहिरो जानु अनौठो घटना भएको बताए।

त्यसक्षेत्रमा पटक-पटक हिउँपहिरो जाने गर्दा खर्कको दर्जनौं गोठमा रहेका याकचौरी जोखिममा परेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here