मादक पदार्थ प्रयोगकर्ताहरूलाई पत्र
प्रिय प्रयोगकर्ताज्यूहरू,
नेपालीहरूको महान् चाडहरू बडा दसैँ, नेपाल संवत्, तिहार र छठ पर्व हाम्रा घर-आँगनमा भित्रिसकेका छन्। यी पर्वहरूले विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेका हुन्छन्।
यस अवसरमा ठुलाबडाबाट आशीर्वाद लिने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने, आफन्त भेट्ने, मीठो-मसिनो खाने, राम्रो पहिरन लगाउने र चङ्गा उडाउने हाम्रो परम्परा र संस्कार छ।
तर, यो समयमा धेरैजसो जमघटमा रमाइलोका नाममा रक्सी (अल्कोहोल) को प्रयोग गर्ने तथा जुवा-तास र लङ्गुर-बुर्जा खेल्ने चलन पनि बढेको पाइन्छ।
चाडपर्वमा क्षणिक रमाइलोका लागि पिइने रक्सी बिस्तारै दैनिक बानीमा परिणत हुन सक्छ। त्यसैले यस विषयमा सुरुमै सचेत हुन आवश्यक छ। अर्कातिर, विशेषगरी रमाइलो गर्ने नाममा अत्यधिक रक्सी सेवन गर्दा हुने दुर्घटनाको जोखिम र स्वास्थ्यमा पर्ने गम्भीर असरलाई बेवास्ता गर्नु हुँदैन।
रक्सीले मस्तिष्कको प्रतिक्रिया दिने क्षमता (Reaction time) र दृष्टिको सन्तुलन बिग्राइदिन्छ। अलिकति रक्सी पिएपछि पनि ‘म गाडी चलाउन सक्छु’ भन्ने गलत आत्मविश्वास पैदा हुन्छ, जसले गर्दा तीव्र गति र अनियन्त्रित सवारीका कारण भयानक सडक दुर्घटनाहरू हुने गर्छन्।
रमाइलो गर्ने बहानामा अत्यधिक रक्सी सेवन गर्दा धेरै परिवारको खुसी क्षणभरमै आँसुमा परिणत भएका अनेकौँ दर्दनाक उदाहरणहरू छन्। अघिल्लो दिनसम्म हाँसीखुसी परिवारसँग बसेको मानिस भोलिपल्ट मृत भेटिने वा गम्भीर दुर्घटनामा पर्ने घटनाहरू चाडपर्वका बेला निरन्तर दोहोरिइरहन्छन्।






प्रतिक्रिया दिनुहोस्