माओवादी केन्द्रका अग्रतामा १४ उम्मेदवार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको पाइएको छ ।
रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यहाँ एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।
सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन् । बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छिन् ।
सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहाल ४ सय ५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २२४ पाएका छन् । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई १ हजार ४३१ मत ल्याएर अगाडि छन् । एमालेका विशाल भट्टराई १ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन् ।
भोजपुरमा पनि माओवादीका सुदन किरातीले अग्रता बनाएका छन् । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार लझ्मी महतो कोइरी १ हजार ६९७ मत पछ्याइरहेका छन् ।
मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन् । उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन् । रोल्पामा पनि माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मतका साथ पछ्याइरहेका छन् ।
दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन् । गोरखा– २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निकै फराकिलो मतान्तरले अगाडि छन् । प्रचण्डले ३ हजार ७८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन् । रुकुम पश्चिममा जनार्दन शर्मा र सुनसरी १ बाट मुक्सामहाङ सुब्बाले पनि अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्