माओवादीले भन्यो- सदन चल्नका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफ्नो अडान कायमै राखेको छ । माओवादीले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।
सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख/मुख्य सचेतकहरुसँग आज छलफल गरेका थिए ।




छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए ।
बैठकपछि माओवादीका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए ।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभको बैठक अझै सुरु हुन सकेको छैन । आजको बैठकमा संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथि छलफल हुने सम्भावना रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्